अभिलाष गुप्ता
वीरगंज/०७ बैशाख
पर्साको जगरनाथपुर गाउँपालिका–५ मा यसै हप्ता हुन गइरहेको एक विपन्न परिवारको बिहेवारीलाई लक्षित गर्दै खाद्यान्न सामग्री सहयोग गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगले स्थानीय स्तरमा मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
युवा नेता एवं समाजसेवी बृजेश्वर प्रसाद चौधरीको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा समाजसेवी सन्तोष कुमारले उक्त परिवारलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरेका हुन्। सहयोग स्वरूप १ बोरा चिउरा, २ बोरा चामल, १ बोरा आलु तथा १ प्याकेट प्याज गरी कूल ४ बोरा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।
सहयोग सामग्री संकलनदेखि लिएर सम्बन्धित परिवारको घरसम्म पुर्याउने कार्यसमेत स्वयंसेवी रूपमा गरिएको थियो,जसले सहयोगलाई अझ प्रभावकारी बनाएको स्थानीयले बताएका छन्।
आर्थिक अभावका कारण बिहेवारी व्यवस्थापनमा समस्या झेलिरहेको उक्त परिवारका लागि यो सहयोग महत्वपूर्ण रहेको बताइएको छ। सहयोग प्राप्त गरेपछि परिवारजनले खुशी व्यक्त गर्दै सहयोगी हातहरूप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगी अभियानले समाजमा सकारात्मक सन्देश दिने र अन्यलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यहरू निरन्तरता पाउने अपेक्षा गरिएको छ।









