काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९ गतेदेखि सुरु भएर २९ गते सकिएको थियो । यो एक सातामा उत्तरपुस्तिका परीक्षणको काम पनि सकिएको छ । सरकारले एक महिनाभित्रै एसइई नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएपछि बोर्डले अहिले तीव्र रूपमा काम गरिरहेको छ।
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अधिकांश जिल्लाका उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अब १० जिल्लाको मात्रै उत्तरपुस्तिका आउन बाँकी छ । उनले भने, ‘अहिले कम्पाइल गर्ने, मार्कसिट इन्ट्री गर्ने लगायत काम भइरहेको छ, वैशाखभित्रै नतिजा प्रकाशन हुने गरी काम तीव्र रूपमा भइरहेको छ ।’
यसअघिसम्म एसइई नतिजा प्रकाशन हुन करिब ३ महिना लाग्ने गरेको थियो तर यसपालिदेखि एक महिनामै नतिजा प्रकाशित हुने देखिएको छ । सरकारको निर्देशनअनुसार परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका-२०८२’ जारी गर्यो । बोर्डले एसइईलाई व्यवस्थित, उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्नका लागि शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले निर्देशन विकास गरी लागु गरेको हो । छिटो नतिजा प्रकाशित गर्न बोर्डले प्रत्येक जिल्लामा रहेका परीक्षा केन्द्रहरू नै परीक्षण केन्द्रका रूपमा तोकेको थियो ।
चैत १९ र २० गते सञ्चालित विषयका प्राप्ताङ्क उतार गरिएका मार्कस्लिप परीक्षा नियन्त्रण कार्यालयमा चैत २३ गतेसम्म पठाउनुपर्ने समय तोकियो । २२, २३ र २४ गते सञ्चालित विषयका प्राप्ताङ्क उतार गरिएका मार्कस्लिप २७ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा ल्याइपुर्याउनुपर्ने समय तोकियो । २५ र २६ गते सञ्चालित विषयका प्राप्ताङ्क उतार गरिएका मार्कस्लिप ३० गते, २८ र २९ गते सञ्चालित विषयका प्राप्ताङ्क उतार गरिएका मार्कस्लिप, जिल्लाका सबै उत्तरपुस्तिका र पनिका ल्याउनुपर्ने परीक्षासम्बन्धी अन्य सबै कागजात वैशाख ५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्नुपर्ने समय तोकिएको थियो ।
त्यही अनुसार उत्तरपुस्तिका परीक्षण भयो । एक महिनाभित्रै अर्थात् वैशाखभित्र नतिजा प्रकाशन गर्नकै लागि अहिले कर्मचारीहरू खटिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार यो वर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए ।
सभार:- अखबार नेपाल








