४ बैशाख २०८३, शुक्रबार
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। खाम्चालाई सेवाग्राहीबाट रु. २ लाख घुस लिइसकेको अवस्थामा रंगेहात समातिएको आयोगले जनाएको छ।
नियन्त्रणका क्रममा उनको साथबाट लिएको घुस रकम रु. २,००,००० सँगै स्रोत नखुलेको थप रु. ३,५०,००० समेत बरामद गरिएको छ। यससँगै एक थान मोबाइल फोन पनि जफत गरिएको आयोगले जानकारी दिएको छ।
खाम्चालाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।








