वीरगंज/ २८ चैत
पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ बलुवामा आगलागीबाट घरबारविहीन बनेको एक परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
गत बिहीबार राति करिब ११:३० बजे लामखुटे भगाउन बालिएको मच्छर धुपबाट सल्किएको आगोले मोटर मुखिया बिनको घर पूर्ण रूपमा जलेर खरानी भएको थियो। आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।
जगरनाथपुरका युवा नेता बृजेश्वर चौधरीले घटनाको बारेमा जानकारी गराए पस्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटोल निवासी सन्तोष कुमार पीडित परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन्। उनले २ बोरा चामल, १ बोरा आलु, १ प्याकेट प्याज, १ बोरा चिउरा लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्।
साथै, सन्तोष कुमारले आफ्नै लगानीमा पीडित परिवारका लागि नयाँ झोपडी घर निर्माण गरिदिने प्रतिबद्धता पनि जनाएका छन्।
पीडित परिवारका अनुसार, घर निर्माणका लागि लघुवित्त विकास बैंकबाट लिएको करिब ६ लाख रुपैयाँ नगदसमेत आगलागीमा जलेर नष्ट भएको छ। आगोमा परी चार वटा बाख्रा र एक गाईको समेत मृत्यु भएको जनाइएको छ।
त्यसैगरी लत्ताकपडा, भाँडाकुँडा, दराज, बाकस तथा खाद्यान्न कलाकार सबै सरसामान पूर्ण रूपमा नष्ट भएका छन्। हाल पीडित परिवार अत्यन्तै कठिन अवस्थामा रहेको र थप सहयोगको खाँचो रहेको स्थानीयले बताएका छन्।स्थानीयवासी तथा सहयोगी मनहरूले सम्भव भएसम्म सहयोग गरी पीडित परिवारलाई राहत पुर्याउन अपिल गरिएको छ।









