हरिकिशोर शर्मा / चैत २७ पर्सा ।
पर्साको जिराभवानी गाउँपालिका-१, बलुवा टोलमा गएराति भएको आगलागीमा परी ठुलो परिमाणमा धनमालको क्षति भएको छ। स्थानीय मोटर मुखिया बिनको घरबाट सुरु भएको आगोले घरभित्रका सबै सामग्री खरानी बनाएको छ।
गएराति करिब ११:३० बजेको समयमा घरमा लामखुट्टे धपाउनका लागि बालिएको घुर (आगो) बाट अचानक आगो सल्किएको थियो। हावा चलेका कारण आगोले क्षणभरमै उग्र रूप लिएको बताइएको छ।पीडित मोटर मुखिया बिनका अनुसार आगलागीबाट अपूरणीय क्षति भएको छ। क्षतिको मुख्य विवरण यस प्रकार छ।
नगद रकम दुई दिनअघि मात्र छिमेकी लघुवित्त विकास बैंकबाट घर बनाउन ऋण स्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ।आगोमा परेर चार वटा बाख्रा र एउटा गाईको मृत्यु भएको छ।घरमा रहेको सम्पूर्ण अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र १२ थान गहना जलेर पूर्ण रूपमा नष्ट भएको छ।
उद्धार र नियन्त्रण आगलागी सुरु भएलगत्तै स्थानीय बासिन्दा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल (बीओपी) महादेवपट्टीको टोली घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार आगलागीबाट भएको कुल क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ। रातको समयमा आगलागी भएकाले मानवीय क्षति नभए पनि पीडित परिवारको बासस्थान र जायजेथा सबै गुमेको छ।









