वीरगंज – मधेश प्रदेश नेत्रहीन क्रिकेट संघले दृष्टिविहीन खेलाडीहरूका लागि पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम बुधबारदेखि वीरगञ्जमा सुरु भएको हो।
मधेश प्रदेशसहित देशका विभिन्न जिल्लाबाट आएका दृष्टिविहीन खेलाडीहरूले प्रशिक्षणमा सहभागिता जनाएका छन्। पर्वत, तनहुँ, चितवन, गोरखा, पर्सा लगायत १२ जिल्लाका २४ जना नेत्रहीन खेलाडीहरूले कार्यक्रममा भाग लिएका छन्।
कार्यक्रम आइज नेपाल पर्साकी कोषाध्यक्ष रूपशिला जयसवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का वीरगंज महानगर अध्यक्ष अमन अली प्रमुख अतिथि रहनुभएको थियो।
त्यसैगरी विशेष अतिथिहरूमा प्रहरी नायब उपरीक्षक राजु कार्की, लायन्स क्लब सेस्मी एकेडेमी वीरगंजका अध्यक्ष पिया सिंह, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, राउन्ड टेबलका अध्यक्ष मोहित राजपाल तथा लायन्सका प्रसिद्धि आनन्द सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमन अलीले आयोजक र सहयोगीहरूलाई धन्यवाद दिँदै समाजका खाँचोमा परेका व्यक्तिहरूको सेवा गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले सरकारले दृष्टिविहीन तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई आवश्यक सहयोग र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि प्रहरी नायब उपरीक्षक राजु कार्कीले दृष्टिविहीन खेलाडीहरूको प्रतिभाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो। कडा परिश्रम गरेमा अवश्य सफलता प्राप्त हुने भन्दै उहाँले सबै खेलाडीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।
यसैगरी लायन्स क्लब सेस्मी एकेडेमी वीरगंजका अध्यक्ष तथा सामाजिक अभियन्ता पिया सिंहले दृष्टिविहीन खेलाडीहरूले आफ्नो प्रतिभा र मेहनतबाट देशको नाम उज्ज्वल बनाइरहेको बताउनुभयो। उहाँले समाजका सबै वर्गले विशेष गरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। साथै यस्ता कार्यक्रमहरूमा आफूले सधैं आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।









