राजदूतहरूसँग प्रधानमन्त्री बालेनको सामूहिक शिष्टाचार भेट

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट गरेका छन्। विगतमा प्रधानमन्त्रीहरूले प्रत्येक देशका राजदूतलाई छुट्टाछुट्टै भेट्ने प्रचलन रहेको भए पनि यसपटक प्रधानमन्त्री शाहले भेटका लागि समय माग्ने सबै राजदूतलाई एकैपटक सामूहिक रूपमा भेट्ने निर्णय गरेका हुन्।

परराष्ट्र मन्त्रालयको समन्वयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त भेटवार्तामा काठमाडौंमा रहेका २८ विदेशी नियोगमध्ये १७ देशका राजदूत तथा नियोग प्रमुखहरू सहभागी भएका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्रीसँग भेटका लागि पत्राचार गरेका थिए। सोही आधारमा भेटको अनुरोध गर्ने सबैलाई बुधबार (चैत २५ गते) एकैपटक बोलाएर सामूहिक शिष्टाचार भेट सम्पन्न गरिएको हो।

भेटवार्तामा नेपालका लागि भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका तथा संयुक्त राष्ट्रसंघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए।

सामूहिक शिष्टाचार भेटवार्ता मध्यान्ह १२ बजेतिर सुरु भएको थियो। सबै राजदूतहरू बैठक कक्षमा उपस्थित भएपछि प्रधानमन्त्री शाह हलमा प्रवेश गरेका थिए। त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईले राजदूतहरूलाई स्वागत गर्दै नेपाल सरकारका प्राथमिकता, सहकार्य र सद्भावका विषयमा जानकारी गराएका थिए।

स्वागतपछि उपस्थित सबै राजदूतहरूलाई पालैपालो आफ्नो परिचय दिन र नेपालसँगको सम्बन्धबारे संक्षेपमा धारणा राख्न अनुरोध गरिएको थियो। राजदूतहरूले आफ्नो देश र नेपालबीचको सम्बन्धबारे चर्चा गर्दै नेपालसँगको सहकार्यलाई थप सुदृढ बनाउन आफूहरू सकारात्मक रहेको बताएका थिए।

स्रोतका अनुसार भेटवार्ताको वातावरण सौहार्दपूर्ण र सकारात्मक रहेको थियो। विदेशी राजदूतहरूले नेपालका विकास प्रयास तथा आगामी योजनाबारे चासो र उत्सुकता व्यक्त गरेका थिए।

राजदूतहरूको परिचयपछि परराष्ट्रमन्त्री शिशिर खनालले सरकारका कामकारबाहीबारे जानकारी गराउँदै नेपाल सरकारले प्रत्यक्ष देखिने गरी काम गर्न चाहेको बताएका थिए।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले संक्षिप्त सम्बोधन गरेका थिए। करिब चार मिनेट लामो सम्बोधनमा उनले सबै राजदूतहरूलाई धन्यवाद दिँदै नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्ने बताएका थिए।

प्रधानमन्त्री शाहले साझा समृद्धिका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउने धारणा व्यक्त गर्दै शान्ति सबैको साझा प्राथमिकता हुनुपर्ने उल्लेख गरेका थिए।

उनले ठूलो संख्यामा नेपाली कामदार विदेशमा रहेको र विभिन्न देशमा नेपाली डायस्पोरा फैलिएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको सुरक्षाप्रति नेपाल सरकार गम्भीर रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले सुशासन र आर्थिक विकासलाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै जनताको जीवनस्तर उकास्नु सरकारको मुख्य लक्ष्य रहेको बताए। साथै द्विपक्षीय विषयहरूमा आवश्यक परे परराष्ट्र मन्त्रालयमार्फत सम्पर्क गर्न राजदूतहरूलाई आग्रह गरेका थिए।

कार्यक्रमको अन्त्यमा परराष्ट्र सचिव राईले सहभागी सबै राजदूतहरूलाई धन्यवाद दिएका थिए। त्यसपछि राजदूतहरूले पालैपालो प्रधानमन्त्रीसँग तस्बिर खिचाएका थिए। तस्बिर खिचाइसकेपछि प्रधानमन्त्री शाह कार्यक्रमबाट बाहिरिएका थिए भने राजदूतहरूले केही समय परराष्ट्रमन्त्री खनाल र सचिव राईसँग अनौपचारिक कुराकानी गरेका थिए। त्यसपछि सबै राजदूतहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित