रौतहट/ रौतहटमा रहेको ऐतिहासिक तथा आर्थिक हिसाबले महत्वपूर्ण श्री राम सुगर मिल्स लिमिटेड पुनः सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन पेश गरिएको छ।
मधवनारायण नगरपालिका–१ रौतहट निवासी राम पुजन साहले मन्त्रालयका सचिवसमक्ष निवेदन दिँदै करिब पाँच–छ वर्षदेखि बन्द अवस्थामा रहेको उक्त उद्योग सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

निवेदनमा मिल बन्द भएपछि स्थानीय किसान, मजदुर तथा समग्र क्षेत्रको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ। विशेषगरी उखु किसानहरूले उत्पादन गरेको उखुको उचित बजार नपाउँदा समस्या भोग्नुपरेको र उखु खेती नै छाड्नुपर्ने अवस्था आएको जनाइएको छ। साथै हजारौँ मजदुर रोजगारीबाट वञ्चित भएको पनि उल्लेख गरिएको छ।
विगत पाँच–छ वर्षदेखि किसान, मिल बचाउ अभियान समिति तथा स्थानीय निकायले पटक–पटक पहल गरे पनि मिल पुनः सञ्चालनबारे ठोस निर्णय हुन नसकेको निवेदनमा भनिएको छ। त्यसैले सम्बन्धित निकायले मिल सञ्चालकसँग समन्वय गरी आवश्यक आर्थिक लगानी, प्राविधिक सुधार तथा व्यवस्थापनका उपाय अपनाएर उद्योग पुनः सञ्चालन गराउनुपर्ने माग गरिएको छ।
निवेदनमा मिलको वर्तमान अवस्था, सम्भाव्यता र लिलामी प्रक्रियाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग पनि गरिएको छ। साथै सो समितिमार्फत मिल पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ।
त्यसैगरी किसानहरूले न्यूनतम रकम लिएर सहयोगस्वरूप दिएको जग्गा (८३ बिघा १३ कठ्ठा) किसानकै हित सुरक्षित हुने गरी दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्ने नीति अवलम्बन गर्न पनि माग गरिएको छ।
निवेदनमा तीन दशकभन्दा बढी समयदेखि किसान र मजदुरको हितमा सञ्चालन हुँदै आएको उक्त उद्योग केही व्यक्तिको निजी स्वार्थका कारण बन्द हुँदा किसान र मजदुरलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारको पहल आवश्यक रहेको बताइएको छ।
मिल पुनः सञ्चालन भए स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, कृषक तथा श्रमिकको जीवनस्तर सुधार हुने र क्षेत्रीय औद्योगिक विकासमा टेवा पुग्ने विश्वास समेत निवेदनमा व्यक्त गरिएको छ।
अन्त्यमा, उद्योग पुनः सञ्चालनका लागि आवश्यक अध्ययन समिति गठन गरी ठोस पहल गर्न मन्त्रालयसँग आग्रह गरिएको छ।









