धरपकडको विरोधमा पर्साका लेखापढी व्यवसायीको हडताल दोस्रो दिन पनि जारी

 

वीरगंज/ प्रहरीले बिचौलियाको आरोपमा लेखापढी व्यवसायीहरूलाई धरपकड गरेको विरोधमा पर्साका लेखापढी व्यवसायीहरूको हडताल दोस्रो दिन पनि जारी रहेको छ। प्रहरीले धरपकड गर्न थालेपछि जिल्लाका लेखापढी व्यवसायीहरू सोमबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका हुन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका भूमिसुधार तथी मालपोत कार्यालय, नापी,अदालत तथा जिल्ला प्रशासन कार्यालयमा बसेर सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज बन्द गरी आन्दोलन जारी राखेका छन्। एसोसिएसनका पर्सा अध्यक्ष सुरेन्द्रप्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार नै आन्दोलन सुरु गरिएको हो।

गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीन जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि लेखापढी व्यवसायीहरू आन्दोलित बनेका हुन्।

अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई विनाकारण कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड तथा पक्राउ गरिएको आरोप लगाए। उनका अनुसार नेपाल सरकारको नियमअनुसार भू–सेवा केन्द्र सञ्चालन अनुमति लिएर धरौटी बुझाई कानुनी रूपमा काम गरिरहेका व्यवसायीहरूलाई विभिन्न बहानामा पक्राउ गरिनु खेदजनक हो।

उनले विभिन्न जिल्लाका कार्यालयबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्। साथै लेखापढी व्यवसायीहरूलाई बिचौलियाको रूपमा चित्रित नगर्न र उनीहरूको पेशागत सम्मान कायम गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

लेखापढी व्यवसायीहरूको हडतालका कारण मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित सेवाहरू प्रभावित भएका छन्। आवश्यक कागजी प्रक्रिया र सेवा लिन आएका सेवाग्राहीहरूलाई समेत समस्या परेको छ।

पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका चार सयभन्दा बढी व्यवसायी कार्यरत रहेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने लेखापढी व्यवसायीहरूले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित