हरिकिशोर शर्मा /जिराभवानी
नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको ठोरीमा घुइँचो लागेको छ। आज विहानै देखि नेपाली तथा भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन आ आफ्नो बन्दबस्त सहित ठोरी प्रवेश गरेका हुन्।
ठोरीको पर्यटकीय क्षेत्रहरू राईधारा,गणेशमान पार्क,ठुटेखोला,सीतागुफा परिसर,सुन्दरबस्ती,रेडहिल पार्क,मनमोहन पार्क,सिंगेडाँडा,गडुवालाइन पार्क,बाघमोर्चा पार्क,चिसोपानी,रानीबन लगायतका क्षेत्रहरूमा बाक्लो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लागेको हो।
मधेश प्रदेश सरकारले ठोरीलाई मधेसकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेसँगै आन्तरिक पर्यटकहरुको रमणीय गन्तव्य बन्न पुगेको छ भने ठोरीको मनमोहन दृश्यले लोभिएका भारतीय पर्यटकहरुकालागि ठोरी आकर्षक गन्तव्य बनेको छ।
भारतका पस्चिमी चम्पारण,पूर्वी चम्पारण,बेतिया,मुजफ्फरपुर ,मोतीहारी,पटनानरकटियागंज लगायतका स्थानबाट नयाँ वर्ष मनाउन बाह्य पर्यटकहरू ठोरी आएका ठोरीका होटल व्यवसायी दिनेश नेपालले बताए। नेपालको बारा,पर्सा ,रौतहट र सर्लाहीदेखि आन्तरिक पर्यटक ठोरी बनभोज मनाउन तथा घुम्न आएका पनि होटल व्यवसायी नेपालले बताए।
ठोरीमा घुम्नका लागि धेरै स्थानहरु रहेकाले आफूहरु प्रायः खुशीयाली मनाउन ठोरी आउने गरेको बेतियाबाट आएका दिपु गुप्ताले बताए।
आज ठोरी घुम्न आउने पर्यटकहरुको शान्ति सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय ठोरी तथा सशस्त्र सीमा सुरक्षा बल ठोरीको नेतृत्वमा अन्य पालिकाबट समेत फोर्स माग गरी शान्ति सुरक्षा चुस्त बनाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक निलन बहादुर बि क ले जानकारी दिए।
ठोरी आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको गाडी पार्किङ तथा स्थान निर्धारणकालागि निर्मल ठोरी उपभोक्ता समितिले चाँजोपाँजो मिलाएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काले जानकारी दिए।
यसै बिच आज ठोरी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई ठोरी गाउँपालिकाले स्वागत तथा सम्मान गरेको छ।आज टोपी दिवस परेको हुँदा ठोरी प्रवेश गर्ने सुरुका एक सय पर्यटकहरुलाई ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ढाकाटोपी ,खादा तथा टीका लगाई स्वागत गरेका थिए।
पर्यटक स्वागत कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी,वडाध्यक्षहरु अमृत कृष्ण सापकोटा ,शम्भु खड्का ,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,पालिकाका कर्मचारीहरु,सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो।








