वीरगञ्ज, भदौ २८ गते
जेनजी पर्सा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा धादिङ जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। टोलीले धादिङको गजुरी गाउँपालिका–५ र ६ मा रहेका बाढीपीडितका लागि स्थापना गरिएको होल्डिङ सेन्टरमा पुगेर करिब २०० परिवारलाई राहत सामग्री वितरण गरेको हो।
बाढी तथा विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको जेनजी पर्साले जनाएको छ। राहत सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोठ तथा लत्ताकपडालगायतका सामग्री रहेका छन्। वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेनजीका चन्दन महतो र रकी खानलगायतको उपस्थिति रहेको थियो।
बाढीपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्दै टोलीले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको जनाएको छ। तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न तथा दैनिक प्रयोगका सामग्री वितरण गरिएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका लागि पहल गरिने बताइएको छ।
जेनजी पर्सा तथा युवा नेता सुधीर पटेलको टोली राहत सामग्री लिएर शनिबार वीरगञ्जबाट धादिङतर्फ प्रस्थान गरेको थियो। वीरगञ्जबाट लामो दूरीको यात्रा गर्दै धादिङ पुगेको टोलीले अर्को दिन नै बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।
स्थानीय जनप्रतिनिधि तथा बाढीपीडित परिवारले विपद्को समयमा वीरगञ्जबाट राहत सामग्री लिएर सहयोग गर्न पुगेको टोलीप्रति आभार व्यक्त गरेका छन्। राहत सामग्रीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावित परिवारलाई तत्कालको दैनिक आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








