राजेश सिंह
महोत्तरी, भदौ २७ गते ।
हातमा कुची र विभिन्न रङ लिएर २५ जना युवा तथा किशोरी मिथिला चित्रका परम्परागत आकृति बनाउन व्यस्त थिए। कसैले पौराणिक आकृति कोरिरहेका थिए भने कसैले रङ भर्दै थिए। पाँच दिनसम्म चलेको यो अभ्यास उनीहरूका लागि केवल चित्र कोर्न सिक्ने अवसर मात्र थिएन, आफ्नो सांस्कृतिक पहिचान जोगाउँदै सीपलाई आयआर्जनको माध्यम बनाउने प्रयास पनि थियो ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा अवसरबाट वञ्चित परिवारका युवा तथा किशोरीलाई लक्षित गरी सञ्चालित पाँचदिने मिथिला चित्रकला तालिम सम्पन्न भएको छ। तालिमले स्थानीय कला र सांस्कृतिक पहिचानको संरक्षणसँगै नयाँ पुस्तालाई सीप विकास तथा जीविकोपार्जनका अवसरसँग जोड्ने उद्देश्य राखेको थियो ।
रतौली युवा क्लब (RYC) र एक्सनएड इन्टरनेशनल नेपाल (AAIN) को साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP-41) अन्तर्गत भदौ २३ देखि २७ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागीलाई मिथिला चित्रकलाको इतिहास र सांस्कृतिक महत्वदेखि परम्परागत आकृति, डिजाइन, रङ संयोजन तथा चित्र निर्माणका विभिन्न प्रविधिबारे जानकारी दिइएको थियो। प्रशिक्षकको प्रत्यक्ष प्रदर्शनपछि सहभागीले व्यक्तिगत तथा सामूहिक रूपमा अभ्यास गर्दै विभिन्न कलाकृति निर्माण गरेका थिए ।
तालिमको करिब ८० प्रतिशत समय व्यावहारिक अभ्यासमा केन्द्रित गरिएको थियो। यस क्रममा सहभागीले बनाएका चित्रमा देखिएका कमजोरी सुधार गर्न प्रशिक्षकबाट निरन्तर सुझाव तथा प्रतिक्रिया पाएका थिए। यसले सहभागीलाई कागजमा चित्र कोर्न सिकाउने मात्र नभई आफैं सिर्जना गर्न सक्ने आत्मविश्वाससमेत बढाएको आयोजकको भनाइ छ ।
मिथिला चित्रकलालाई परम्परागत अभ्यासबाट बजारमुखी उत्पादनमा रूपान्तरण गर्ने विषयलाई पनि तालिममा प्राथमिकता दिइएको थियो। सहभागीलाई उत्पादन विकास, गुणस्तर सुधार, लागत तथा मूल्य निर्धारण, प्याकेजिङ, आकर्षक प्रस्तुतीकरण र आधारभूत बजारीकरणबारे समेत जानकारी दिइएको थियो ।
रतौली युवा क्लबका अध्यक्ष साकिर खानका अनुसार तालिमको उद्देश्य मिथिला चित्रकलाको संरक्षणसँगै यसलाई नयाँ पुस्ताको सीप र सम्भावित आम्दानीको स्रोतका रूपमा विकास गर्नु हो । “मिथिला चित्रकलाको संरक्षण र पुस्तान्तरणसँगै युवा तथा किशोरीलाई सीप र जीविकोपार्जनका अवसरसँग जोड्नु तालिमको मुख्य उद्देश्य हो,” खानले बताउनुभयो ।
तालिम सकिएपछि सिकेको सीपलाई व्यवहारमा निरन्तरता दिन सहभागीलाई आवश्यक मिथिला चित्रकला सामग्रीसमेत सहयोग गरिएको छ। सामग्री पाएपछि सहभागीले घरमै नियमित अभ्यास गर्न तथा कलाकृति निर्माणलाई निरन्तरता दिन सक्ने स्थानीय अधिकार कार्यक्रम (LRP-41) का कार्यक्रम संयोजक अविनाश कुमार महतोले बताउनुभयो ।
तालिमको अन्तिम दिन सहभागीले आफूले तयार गरेका विभिन्न मिथिला चित्र तथा कलाकृति प्रदर्शन गरेका थिए। पाँच दिनको अभ्यासबाट तयार भएका कलाकृतिले सहभागीमा आएको सीप र सिर्जनात्मक क्षमतासमेत प्रदर्शन गरेको थियो। तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
मिथिला चित्रकला मधेशको मौलिक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षणसँगै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने संयोजक महतोको भनाइ छ। उहाँका अनुसार चित्रकलालाई स्थानीय बजार, मेला, महोत्सव तथा प्रदर्शनीसँग जोड्न सके यसलाई घरआधारित उद्यम तथा साना व्यवसायका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
“मिथिला चित्रकला हाम्रो मौलिक पहिचान हो। यसको संरक्षणसँगै युवा तथा किशोरीलाई सीप र आयआर्जनको अवसरसँग जोड्न सकियो भने सांस्कृतिक सम्पदाको संरक्षण र आर्थिक सशक्तीकरण दुवैलाई अघि बढाउन सकिन्छ,” महतोले भन्नुभयो ।
तालिमपछि सहभागीले निरन्तर अभ्यास गर्दै नयाँ डिजाइन तथा उत्पादन विकास गर्ने, स्थानीय बजार र विभिन्न प्रदर्शनीमा सहभागी हुने तथा सम्भावित रूपमा मिथिला चित्रकलालाई आयआर्जनको माध्यम बनाउने अपेक्षा गरिएको छ ।
रामगोपालपुर नगरपालिकाका वडा नं. १, २, ५ र ९ मा स्थानीय अधिकार कार्यक्रम (LRP-41) मार्फत महिला अधिकार, गुणस्तरीय शिक्षा, उत्थानशील जीविकोपार्जन तथा सुरक्षित र दिगो पूर्वाधारका क्षेत्रमा काम हुँदै आएको छ ।
यसरी मिथिला चित्रकलाको एउटा कुची र केही रङमार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति चिनाउनेसँगै सीप, सिर्जनशीलता र सम्भावित रोजगारीसँग जोड्ने प्रयास गरिएको छ। परम्परागत कलालाई बजारसँग जोड्न सकिएमा यस्ता सीपले सांस्कृतिक पहिचान संरक्षणसँगै स्थानीय स्तरमै युवा तथा किशोरीका लागि आयआर्जनको नयाँ बाटो खोल्न सक्ने देखिन्छ ।








