वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटी, डिस्ट्रिक्ट ३२२ एसको आयोजनामा वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि स्वच्छता तथा कपाल कटाइ कार्यक्रम सम्पन्न भएको छ।
“स्वच्छताले आत्मविश्वास बढाउँछ, नयाँ रूपले खुसी ल्याउँछ” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थीलाई व्यक्तिगत सरसफाइको महत्वबारे जानकारी दिइएको थियो। साथै, १८ जना दृष्टिविहीन विद्यार्थीलाई निःशुल्क कपाल काट्ने सेवा प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष लायन पिया सिंहले गर्नुभएको थियो। सो अवसरमा उहाँले क्लबले ‘हामी सेवा गर्छौं, हामी हेरचाह गर्छौं, हामी सशक्त बनाउँछौं’ भन्ने भावनाका साथ समाजका विपन्न तथा विशेष आवश्यकता भएका वर्गको सेवामा निरन्तर काम गर्दै आएको बताउनुभयो।
उहाँले व्यक्तिगत स्वच्छता स्वास्थ्यका लागि मात्र नभई आत्मविश्वास, सकारात्मक सोच र व्यक्तित्व विकासका लागि समेत महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा क्लब अध्यक्ष लायन पिया सिंह, महेश साह कानु, प्रवीण पराजुली, पत्रकार लालबाबु सिंह, कञ्चनजङ्घा स्कुलका निर्देशक मार्टिन मोक्तान, सचिव लायन नेल्सन भण्डारी, सहसचिव लायन प्रसिद्धि आनन्द सिंह, पूर्वअध्यक्ष उमेश कुमार गुप्तालगायत क्लबका सदस्य श्रुति गुप्ता, श्वेता गुप्ता र सञ्जना बरनवालको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्युटी पार्लरका दक्ष जनशक्तिहरू प्रतिमा साह, संगीता गिरी (क्विन ब्युटी पार्लर), सीमा साह (दुर्गा ब्युटी पार्लर), सावित्री श्रेष्ठ (क्विन ब्युटी पार्लर) र आयुषी बरनवालले प्राविधिक सहयोग गर्नुभएको थियो।
कार्यक्रमका क्रममा दृष्टिविहीन विद्यार्थीलाई व्यक्तिगत सरसफाइप्रति सचेत गराउनुका साथै निःशुल्क कपाल कटाइ सेवा प्रदान गरिएको थियो। आयोजकले यस्ता सेवामूलक कार्यक्रमले विशेष आवश्यकता भएका व्यक्तिप्रति समाजमा सहयोग, संवेदनशीलता र सम्मानको भावना थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।









