वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ । प्रहरीले शिशु चोरीमा संलग्न एक महिलालाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ इनर्वाकी सबिना खातुन रहेको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार प्रहरीले रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरी सोमबार बिहान वीरगन्ज–१६ इनर्वाबाट नवजात शिशुसहित खातुनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आइतबार राति नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको थियो । सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन् ।
अस्पतालमा उपचाररत शिशुलाई उनकी हजुरआमाले कुरेर बसेकी थिइन् । सोही क्रममा एक महिला बच्चा खेलाउने भन्दै शिशुलाई मागेकी थिइन् । हजुरआमाले ती महिलालाई बच्चा दिएपछि उनी शिशुसहित अस्पतालबाट बेपत्ता भएकी थिइन् ।
शिशु लिएर महिला बेपत्ता भएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको थियो ।
प्रहरीले अस्पताल तथा आसपासका क्षेत्रको निगरानी बढाउँदै विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो । रातभरको खोजीपछि सोमबार बिहान वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट शिशुसहित खातुनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेकी खातुन र उद्धार गरिएको नवजात शिशुलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । शिशुको अवस्था सकुशल रहेको बताइएको छ ।
घटनामा महिलाको संलग्नता, शिशु चोरी गर्नुको उद्देश्य तथा घटनासँग जोडिएका अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।









