नेपालको महाजलप्रलयप्रति बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको दुःख, राहतमा जुट्न आह्वान

 

कन्हैया पटेल।  नेपालमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका पीठाधीश्वर श्री धीरेन्द्र कृष्ण शास्त्रीले गहिरो दुःख व्यक्त गरेका छन्।

भारतको छिमेकी तथा मित्रराष्ट्र नेपालमा देखिएको यस्तो भयावह प्राकृतिक विपत्तिले आफूलाई स्तब्ध बनाएको भन्दै शास्त्रीले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको सुरक्षा, उद्धार र राहतका लागि ईश्वरसँग प्रार्थना गरेका छन्।

उनले विपत्तिको यस कठिन घडीमा नेपालमा रहेका बागेश्वर धाम परिवार तथा सेवासँग जोडिएका सदस्यहरूलाई राहत तथा उद्धार कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्। पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय स्तरबाट सक्दो सेवा गर्नसमेत उनले अनुरोध गरेका छन्।

यसैबीच, मध्य प्रदेशस्थित बागेश्वर धामबाट केही सेवादारको टोली नेपाल पठाउने तयारी भइरहेको बताइएको छ। उक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा आवश्यक मानवीय सहयोगमा हातेमालो गर्ने तयारी गरेको जनाइएको छ।

प्राकृतिक विपत्तिको समयमा जात, धर्म, क्षेत्र वा सीमाभन्दा माथि उठेर मानवताको सेवामा जुट्नुपर्ने सन्देश दिँदै पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीले नेपालका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।

नेपालमा आएको भीषण बाढीपछि उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको छ। यस्तो विपत्तिको समयमा प्राप्त हुने मानवीय सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित