रौतहट, ४ भदौ।
रौतहटको गरुडा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८५ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित १५औँ नगरसभा तथा १०औँ बजेट अधिवेशनमार्फत नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, नगरसभा सदस्य, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख जयसवालले आगामी वर्षको बजेटलाई भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सरसफाइका क्षेत्रमा केन्द्रित गरिएको बताए। नगरवासीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने तथा विकास निर्माणका कामलाई थप गति दिने उद्देश्यले बजेट तर्जुमा गरिएको उनको भनाइ थियो।
नगरपालिकाले सडक तथा यातायात पूर्वाधारको विस्तार र स्तरोन्नति, कृषि क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामाजिक सुरक्षा र नगरपालिकाबाट प्रदान हुने सार्वजनिक सेवालाई थप व्यवस्थित तथा पारदर्शी बनाउने कार्यक्रमसमेत बजेटमा समेटिएको छ।
नगर प्रमुख जयसवालले बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नगरवासीबीच समन्वय आवश्यक रहेको बताए। नगरको विकासका लागि विनियोजन गरिएको रकम लक्षित क्षेत्रमा सदुपयोग गर्दै परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए।
उनले गरुडा नगरपालिकालाई व्यवस्थित र समृद्ध शहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार सडक पूर्वाधार, कृषि, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा लगानी बढाइएको बताए। बजेट कार्यान्वयनमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने उनको भनाइ थियो।
नगरसभामा सहभागी जनप्रतिनिधिहरूले नगरको आवश्यकता र प्राथमिकताअनुसार बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विकास योजनाको प्रभावकारी अनुगमन गर्दै बजेटको सदुपयोग सुनिश्चित गर्नुपर्ने बताएका छन्।
नगरसभामा सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।









