हरिकिशोर शर्मा / साउन/ २९ जिराभवानी पर्सा
ठोरी गापा -५ मा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले रु ५५ लाख लागतमा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै सोही कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पुर्व विद्यार्थीको सहयोगमा प्राप्त शैक्षिक सामग्री कक्षा ५ सम्मका विद्यार्थीलाई शुक्रबार नै हस्तान्तरण गर्नुभएको छ । सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन , कार्यपालिका सदस्य मेघराज सुनुवार , वडा सदस्यहरु निशा खड्का , लालमुनी देवी , सुनाखरी उपभोक्ता समिति अध्यक्ष भिम बहादुर पाख्रिन , समाजसेवी लेखमान थापा लगायत विभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति थियो ।
कक्षा ५ सम्म अभिभावकको खर्च नलाग्ने
——————————–
यसैबीच ज्ञानवाटिका माविमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीले निशुल्क शिक्षा मात्र होइन , हाउस ड्रेस , कापी कलम , जुत्ता र ब्याग पनि किन्न नपर्ने भएको छ । सो विद्यालयका पुर्व विद्यार्थीको सहयोगका कारण सो विद्यालयका विद्यार्थीहरुले विद्यालयका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री निशुल्क प्राप्त गरेका हुन्। पुर्व विद्यार्थीहरु हाल सायोन थाङ्का उद्योगका प्रोपाईटर बुद्ध शम्सेर योन्जन , हाल अमेरिका बस्दै आईरहनुभएका कृष्ण योन्जन , ओमबि स्विमिङ्का प्रोपाईटर विक्रम बोम्जन , मेरिका ट्रेडर्सका प्रोपाईटर मनोज बस्नेत र श्रेष्ठ जनरल स्टोर्सका प्रोपाईटर जीवन श्रेष्ठ लगायतले गरेको रु ८९ हजार सहयोगबाट विद्यार्थीका निमित्त अत्यावश्यक शैक्षिक सामग्री वितरण गरिएको हो । पुर्व विद्यार्थीको सहयोगले ज्ञानवाटिकामा अध्ययनरत कक्षा ५ सम्मका ४३ जना भन्दा धेरै विद्यार्थीले एक शैक्षिक सत्रसम्म पुग्ने सामग्री प्राप्त गरेका हुन्। यस अघि नै सुनाखरी उपभोक्ता समितिले कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेस प्रदान गरेको थियो । समितिले यस अघि नै सो विद्यालयमा ६ दर्जन भन्दा धेरै विद्यार्थीलाई नगद छात्रवृत्ति पनि वितरण गरेको थियो ।









