‘बच्चाको पहिलो अधिकार आमाको दूध’ : नारायणी अस्पतालमा नर्सिङ स्टाफको सचेतनामूलक अभिनय

 

वीरगंज, २२ साउन । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नारायणी अस्पतालमा स्तनपानको महत्त्व तथा शिशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार अस्पतालका नर्सिङ स्टाफहरूले स्तनपानको महत्त्वबारे सन्देशमूलक भूमिका अभिनय (रोल प्ले) प्रस्तुत गरेका हुन्।

कार्यक्रममा डा. चितरञ्जन साहको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी प्रमुख बालरोग परामर्शदाता डा. शैलेश ठाकुर, प्रमुख स्त्री तथा प्रसूति रोग परामर्शदाता डा. सुरेन्द्र प्रसाद चौधरी र नर्सिङ प्रमुख श्रुति शाहको विशिष्ट उपस्थिति रहेको थियो।

नर्सिङ स्टाफहरूले प्रस्तुत गरेको भूमिका अभिनयमार्फत शिशु जन्मिएलगत्तै आमाको पहिलो बिगौती दूध खुवाउनुपर्ने, जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने तथा स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे जनचेतना फैलाइएको थियो।

अभिनयमा स्तनपानसम्बन्धी समाजमा विद्यमान गलत धारणा, भ्रम तथा परम्परागत मान्यताले आमा र शिशुको स्वास्थ्यमा पार्न सक्ने असरलाई समेत मार्मिक ढङ्गले प्रस्तुत गरिएको थियो। नर्सिङ स्टाफहरूले यस्ता भ्रम चिर्दै आमाहरूलाई स्तनपानका वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी फाइदाबारे सचेत गराउनुपर्ने सन्देश दिएका थिए।

कार्यक्रममा स्तनपान शिशुको पोषणका लागि मात्र नभई उसको शारीरिक तथा मानसिक विकासका लागि समेत महत्वपूर्ण रहेको विषयलाई जोड दिइएको थियो। साथै, आमाको दूधले आमा र बच्चाबीचको भावनात्मक सम्बन्धलाई समेत मजबुत बनाउन सहयोग गर्ने सन्देश अभिनयमार्फत प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध सर्वोत्तम आहार भएको बताए। शिशु जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गराउनुका साथै ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा परिवार तथा समुदायलाई निरन्तर सचेत गराउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

उनीहरूले स्तनपानसम्बन्धी गलत धारणा र सामाजिक भ्रम हटाउन स्वास्थ्यकर्मी, परिवार तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। स्वास्थ्य संस्थाबाट सञ्चालन हुने यस्ता सिर्जनात्मक र व्यवहारिक जनचेतनामूलक कार्यक्रमले आमाहरूलाई स्तनपानको महत्त्व बुझाउन तथा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुर्‍याउने उनीहरूले बताए।

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइन्छ। यस अवसरमा नारायणी अस्पतालले स्तनपानको महत्त्व, शिशु स्वास्थ्य तथा आमाको स्वास्थ्यसँग सम्बन्धित विषयमा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरेको जनाएको छ।

कार्यक्रमको समापनमा भूमिका अभिनय प्रस्तुत गर्ने तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने नर्सिङ स्टाफहरूलाई प्रशंसास्वरूप प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। प्रमाणपत्र तथा मायाको चिनो वितरणसँगै विश्व स्तनपान सप्ताह–२०२६ अन्तर्गत नारायणी अस्पतालमा सञ्चालित सचेतनामूलक कार्यक्रमको समापन गरिएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित