पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवद्वारा जारी सद्भाव सन्देश : नेपालीबीच एकता र सामाजिक सद्भाव कायम राख्न आग्रह

 

वीरगञ्ज/१४ साउन

पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधतालाई राष्ट्रको पहिचान र गौरवका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्। साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सद्भाव सन्देशमा उहाँले नेपालीहरू प्राचीनकालदेखि नै आपसी मेलमिलाप, प्रेम, सहिष्णुता र सद्भावका साथ बस्दै आएको उल्लेख गर्नुभएको छ।

सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै प्रत्येक समुदायका आफ्नै धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति सम्मान कायम राख्नु सबै नेपालीको साझा दायित्व भएको बताइएको छ। यिनै विविध विशेषताले विश्व समुदायमा नेपालको विशिष्ट पहिचान र सम्मान स्थापित भएको भन्दै कुनै पनि कारणले यसमा खलल पुग्ने कार्य स्वीकार्य नहुने धारणा व्यक्त गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका विभिन्न भूभागसम्म फैलिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपालजस्तो सामाजिक सद्भाव कायम रहेको मुलुकमा यस्ता अवाञ्छित घटना र दुर्घटना हुनु चिन्ताजनक भएको उहाँको भनाइ छ।

उहाँले यस्ता गतिविधि नेपाली समाजका मौलिक मूल्य, मान्यता र सहअस्तित्वको भावनाविपरीत रहेको उल्लेख गर्दै देशका सबै भूभागमा बसोबास गर्ने नेपालीहरूबीच एकता, मेलमिलाप र पारस्परिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभएको छ।

सन्देशको अन्त्यमा “हामी नेपाली मिलौँ, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाऔँ, यही आजको आवश्यकता हो” भन्ने भाव व्यक्त गर्दै “जय नेपाल” उल्लेख गरिएको छ। उक्त सन्देश निर्मल निवासस्थित संवाद सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित