किसानलाई सहज र समान रूपमा मलखाद वितरण गर्न रास्वपाद्वारा जिराभवानी गाउँपालिकामा ज्ञापनपत्र

 

हरिकिशोर शर्मा / साउन १३ जिराभवानी पर्सा

पर्साको जिराभवानी गाउँपालिकामा किसानहरूलाई मलखाद सहज, पारदर्शी तथा समान पहुँचका आधारमा वितरण गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका समितिले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।
रास्वपा जिराभवानी गाउँपालिका समितिका सभापति रमाकान्त प्रसाद चौधरी नेतृत्वको टोलीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तथा उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै किसानहरूलाई कुनै पनि विभेद वा पक्षपातबिना आवश्यक मलखाद उपलब्ध गराउन आग्रह गरेको हो।
ज्ञापनपत्रमा विशेषगरी वडा नं. ५ मा मलखाद वितरणका क्रममा अनियमितता भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। वितरण प्रक्रियालाई निष्पक्ष, पारदर्शी र सबै किसानका लागि समान बनाउँदै वास्तविक कृषकलाई समयमै मलखाद उपलब्ध गराउन आवश्यक कदम चाल्न रास्वपाले माग गरेको छ।
त्यस्तै, मलखाद वितरणको स्पष्ट कार्यविधि सार्वजनिक गर्न, वितरण प्रक्रियाको प्रभावकारी अनुगमन गर्न तथा देखिएका अनियमिततामाथि आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि ज्ञापनपत्रमार्फत गाउँपालिकासँग आग्रह गरिएको छ।
रास्वपाले किसानको उत्पादन र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई उच्च प्राथमिकतामा राखी समस्या समाधान गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित