कञ्चनजङ्घा स्कुलमा शिक्षक दिवस भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता

वीरगंज, साउन १३

वीरगंजस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस–२०८३ विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

“असल शिक्षकले आशा जगाउँछन्, कल्पनाशक्तिलाई प्रेरित गर्छन् र सिकाइप्रतिको प्रेम विकास गराउँछन्।” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौगाईले शिक्षक राष्ट्र निर्माणका वास्तविक शिल्पी भएको उल्लेख गर्दै शिक्षाले नै सभ्य, अनुशासित र समृद्ध समाज निर्माण गर्ने बताउनुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, कविता, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुति उपस्थित अतिथि, अभिभावक तथा दर्शकले उत्साहका साथ अवलोकन गरेका थिए।

विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवराज खडका, मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षकहरूको सम्मान गर्नुका साथै गुरु–शिष्य सम्बन्धको महत्वबारे चर्चा गरिएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमले शिक्षकप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा सिर्जनशीलता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित