लक्ष्मीलाई न्याय देऊ’ भन्दै वीरगञ्जमा आक्रोशपूर्ण प्रदर्शन

 

हरिकिशोर शर्मा / साउन ११ जिराभवानी पर्सा ।

 

पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा केही दिनअघि शंकास्पद अवस्थामा मृत्यु भएकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनाले थप गम्भीर मोड लिएको छ। घटनाको सत्यतथ्य अझै सार्वजनिक नभएको, निष्पक्ष अनुसन्धानमा ढिलाइ भएको र दोषीलाई जोगाउने प्रयास भइरहेको आशंका व्यक्त गर्दै मृतकका माइती पक्ष, आफन्त तथा स्थानीयवासीले सोमबार वीरगञ्जमा आक्रोशपूर्ण प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “लक्ष्मीलाई न्याय देऊ”, “दोषीलाई तत्काल कारबाही गर”, “घटनाको सत्य सार्वजनिक गर”, “न्यायमा ढिलाइ भनेको अन्याय हो” जस्ता नारासहित सडकमा उत्रिँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले एउटा महिलाको शंकास्पद मृत्यु भएको यति धेरै दिन बितिसक्दा पनि घटनाबारे स्पष्ट तथ्य बाहिर नआउनु गम्भीर विषय भएको बताएका छन्। सत्य लुकाउने वा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनीसमेत उनीहरूले दिएका छन्।

ठोरी गाउँपालिका–३ बुद्धनगरका बालकुमार बस्नेतले लक्ष्मीको मृत्यु सामान्य घटना नभई गम्भीर अनुसन्धानको विषय भएको बताउँदै निष्पक्ष छानबिनमार्फत वास्तविक दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने माग गरे। प्रदर्शनमा सहभागी रुद्र खड्काले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिए।

माइती पक्षले घटनामा मृतकका श्रीमान सुधीर सिलवालको परिवारको संलग्नता रहेको आरोप लगाएका छन्। यद्यपि, उक्त आरोपबारे अनुसन्धान निकायबाट कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। त्यसैले आरोप प्रमाणित वा खण्डित गर्ने जिम्मेवारी निष्पक्ष अनुसन्धानबाटै पूरा हुनुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले राज्यका सम्बन्धित निकायलाई कुनै दबाब, प्रभाव वा पहुँचको भरमा अनुसन्धानलाई कमजोर नबनाउन आग्रह गरेका छन्। उनीहरूले “कानुन सबैका लागि समान हो” भन्ने सिद्धान्त व्यवहारमै लागू गर्न र घटनाको सत्य यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्।

लक्ष्मी खड्काको मृत्युले केवल एउटा परिवारलाई शोकमा डुबाएको मात्र होइन, न्यायप्रणालीप्रति सर्वसाधारणको विश्वाससँग समेत जोडिएको विषय बनेको प्रदर्शनकारीहरूको भनाइ छ। उनीहरूले निष्पक्ष अनुसन्धान, सत्यको उजागर र दोषीमाथि कानुनबमोजिम कडा कारबाही नभएसम्म न्यायको आवाज बुलन्द गरिरहने उनीहरूलेको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित