रक्सौल / पूर्वी चम्पारण
“तपाईं जतिसुकै दक्ष, बुद्धिमान, विवेकी, गुणवान र धैर्यशील भए पनि जीवनका हरेक परिस्थितिमाथि पूर्ण नियन्त्रण राख्न सक्नुहुन्न।”
यी विचार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन तथा भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी एवं समाजसेवी विमल सर्राफले सञ्चारकर्मीसँगको कुराकानीमा व्यक्त गरेका हुन्।
उनले मानिसको कर्तव्य आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रयास गर्नु मात्र भएको बताए। प्रयासको पनि एउटा सीमा हुने र त्यसपछिको जीवनको डोरी ईश्वरको हातमा रहने भएकाले खुसीका लागि अरूको प्रतीक्षा गर्नुको सट्टा आफ्नै जीवनका शिल्पकार बन्नुपर्ने उनको भनाइ थियो।
सर्राफले सत्कर्म नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै मानिसले आफ्नै कर्मबाट आफ्नो भाग्य निर्माण गर्ने बताए। उनका अनुसार दुःखले आफ्ना मानिसहरूको महत्त्व बुझाउँछ भने धन–सम्पत्तिले कहिलेकाहीँ आफ्नै मानिसहरूबाट टाढा बनाउँछ। त्यसैले ठूलो काम गरे पनि व्यवहारमा सधैँ विनम्रता कायम राख्नुपर्ने र यही नै महान व्यक्तित्वको वास्तविक पहिचान भएको उनले बताए।
उनले जीवन पाउनु भाग्यको कुरा, मृत्यु समयको कुरा भए पनि मृत्युपछि पनि मानिसहरूको हृदयमा जीवित रहनु भने आफ्ना कर्ममा निर्भर रहने धारणा व्यक्त गरे।
उनका अनुसार जसरी रुखलाई हरेक दिन पानी हाल्नुपर्छ तर फल भने मौसम आएपछि मात्रै लाग्छ, त्यसैगरी जीवनमा पनि धैर्य आवश्यक हुन्छ। प्रत्येक काम आफ्नो निश्चित समयमा मात्र सफल हुने उनले बताए।
सर्राफले गुणले मानिसलाई सफलता दिलाउने भए पनि ती गुणसँग विनम्रता र विवेक जोडिएमा व्यक्ति सफलताको उच्च शिखरसम्म पुग्न सक्ने बताए। मानिसहरूले नामबाट चिन्ने भए पनि असल स्वभावका कारण सधैँ सम्झने उनको भनाइ थियो।
उनले सबैभन्दा धेरै खुसी ती मानिसहरू हुने बताए, जो केवल लिन होइन, अरूलाई दिन जान्दछन्। कुनै पनि समस्याको समाधान क्रोधबाट नभई शान्त मनले सोचविचार गर्दा मात्र सम्भव हुने उनको भनाइ थियो।
भयमुक्त जीवनका लागि असल कर्म गर्नुपर्ने र आफूलाई अविनाशी आत्माका रूपमा बुझ्नुपर्ने उनले बताए। जीवनको लक्ष्य स्पष्ट भएमा मार्गदर्शक आफैँ भेटिने र मार्गदर्शक नभए पनि आफ्नै अन्तरआत्माले सही बाटो देखाउने उनको विश्वास रहेको छ।









