रोटरी क्लब अफ वीरगंजमा राकेश मिश्रको नेतृत्व, ३९औँ पदस्थापन समारोहमा नयाँ कार्यसमिति घोषणा

 

 

वीरगंज , ९ साउन

रोटरी क्लब अफ वीरगंजले आफ्नो ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह भव्य तथा गरिमामय रूपमा सम्पन्न गर्दै रोटेरियन राकेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार वीरगंजस्थित होटल भिस्वामा आयोजित समारोहमा राकेश मिश्रले अध्यक्ष (२०२६–२७) का रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा क्लबको नेतृत्व सम्हाले।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। पदस्थापनसँगै निवर्तमान कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष राकेश मिश्रको नेतृत्वमा गठित कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, रोटेरियन गोपाल खेतान तत्कालीन अध्यक्ष, रोटेरियन दीनदयाल केडिया अध्यक्ष–निर्वाचित, रोटेरियन अमित कुमार गुप्ता उपाध्यक्ष, रोटेरियन पियुष गुप्ता सहसचिव, रोटेरियन डा. अमर केयाल कोषाध्यक्ष, रोटेरियन डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, रोटेरियन सोहन पोद्दार क्लब प्रशासन निर्देशक, रोटेरियन अभिषेक चौधरी सदस्यता निर्देशक, रोटेरियन रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा रोटेरियन पूजा खत्री सदस्यता समिति संयोजकको जिम्मेवारी दिइएको छ। साथै विभिन्न समिति तथा उपसमितिहरूमा समेत सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।

समारोहमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसका साथै उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्व, पेशाकर्मी तथा अन्य आमन्त्रित अतिथिहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले रोटरीका मानवीय सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले रोटरीमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन समर्पित भावनाका साथ काम गर्न आग्रह गरे।

नवनिर्वाचित अध्यक्ष राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको आदर्श “सेवा नै सर्वोपरि” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे।

समारोहका अवसरमा क्लबमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको थियो। सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा आपसी भेटघाटसँगै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित