भारत विकास परिषद् रक्सौलमा पाँच नयाँ सदस्य प्रवेश, संगठनात्मक अनुशासन र सेवा विस्तारमा जोड

 

रक्सौल, असार १९ — भारत विकास परिषद्, रक्सौल शाखाले शुक्रबार लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा शाखास्तरीय कार्यशाला सम्पन्न गरेको छ। कार्यशालामा संगठनात्मक अनुशासन सुदृढ गर्ने, सेवा गतिविधिलाई विस्तार गर्ने तथा सम्पर्क, सहयोग, संस्कृति, सेवा र समर्पणका पाँच मूल सिद्धान्तलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सोही अवसरमा पाँच जना नयाँ सदस्यलाई परिषद्मा आबद्ध गराउँदै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्रीय तथा प्रान्तीय पदाधिकारीहरूले दीप प्रज्वलन गरी भारतमाता र स्वामी विवेकानन्दको तस्बिरमा पुष्प अर्पण गरेर गरेका थिए। रक्सौलस्थित सरस्वती विद्या मन्दिरका विद्यार्थीहरूले वन्दे मातरम् तथा स्वागत गीत प्रस्तुत गरेका थिए।

स्वागत मन्तव्यका क्रममा शाखा अध्यक्ष प्रियदर्शीले भारत विकास परिषद् केवल सामाजिक संस्था नभई राष्ट्र निर्माणको अभियान भएको उल्लेख गर्दै प्रत्येक सदस्यले सेवा, संस्कृति र समर्पणको भावनाका साथ समाजको अन्तिम व्यक्तिसम्म पुग्ने लक्ष्यका साथ काम गर्नुपर्ने बताए।

कार्यशालाको पहिलो सत्रमा क्षेत्रीय वित्त सचिव सीए के.के. चौधरीले परिषद्को उद्देश्य, संगठनात्मक संरचना, शाखा सञ्चालन, नियम, प्रोटोकल तथा कार्यप्रणालीबारे विस्तृत जानकारी गराए। अनुशासित, सक्रिय र जिम्मेवार संगठनबाट मात्रै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुने वक्ताहरूको धारणा थियो।

प्रान्तीय अध्यक्ष श्रीमती पुतुल सिन्हाले परिवार र समाजमा नैतिक मूल्य तथा संस्कारको प्रवर्द्धन आवश्यक रहेको बताइन्। प्रान्तीय संगठन सचिव डा. नवनीत शाण्डिल्यले सेवा गतिविधिलाई परिषद्को मुख्य पहिचानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। क्षेत्रीय सम्पर्क संयोजक अमरनाथ प्रसादले सदस्यता विस्तारलाई संगठनको आधारशिला भन्दै प्रत्येक सदस्यलाई नयाँ सदस्य जोड्न आह्वान गरे। महिला सहभागिता संयोजक श्रीमती धीरा गुप्ताले संस्थाको सफलताका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।

दोस्रो सत्रमा केशव कृष्णले वातावरण संरक्षणसम्बन्धी जानकारी दिएका थिए भने सीए चौधरीले वित्तीय व्यवस्थापन, पारदर्शिता, परिषद्का नियम तथा सदस्यहरूको जिम्मेवारीबारे प्रशिक्षण दिएका थिए। परिषद्को मोबाइल एप र वेबसाइटको प्रभावकारी प्रयोगबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो। खुला छलफलमा सहभागीहरूले शाखाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा सदस्यता विस्तार अभियानअन्तर्गत पाँच नयाँ सदस्यलाई परिषद्मा स्वागत गरिएको थियो। उनीहरूले सेवा, संस्कार, सहयोग, सम्बन्ध र समर्पणका आदर्शलाई आत्मसात गर्दै संगठनात्मक अनुशासन पालना गरी समाजसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा शाखा सचिव नरेश कुमारले धन्यवाद ज्ञापन गरे। राष्ट्रिय गानपछि कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको थियो। त्यसपछि सहभागीहरूले सामूहिक सहभोजमा सहभागिता जनाएका थिए।

कार्यशालामा प्रान्तीय तथा क्षेत्रीय पदाधिकारी, शाखा पदाधिकारी, महिला सहभागिता समूहका प्रतिनिधि, विभिन्न गतिविधिका संयोजक तथा ठूलो संख्यामा परिषद्का सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन प्रा. डा. राजकिशोर सिंहसहित शाखाका विभिन्न पदाधिकारी तथा सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेको जानकारी सम्पर्क संयोजक उमेश सिकारिया र सेवा संयोजक तथा मिडिया इन्चार्ज बिमल कुमार सर्राफले दिएका छन।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित