वीरगंज, असार १४ ।
वीरगंज महानगरपालिकाले सरसफाइ व्यवस्थापनको जिम्मा दिएको ठेकेदार कम्पनीका सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका कारण शहरको सरसफाइ सेवा प्रभावित हुने संकेत देखिएपछि महानगरपालिका समाधानका लागि सक्रिय भएको छ।
आन्दोलनरत सरसफाइ कर्मीहरूले आफ्ना मागप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन वीरगंजको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय उक्त क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई असहजता समेत भएको थियो।
घटनालाई गम्भीर रूपमा लिँदै वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले सरसफाइ ठेक्का लिएका ठेकेदार शिव गुप्ता लाई सरसफाइ कर्मीहरूको जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधानको पहल गर्न निर्देशन दिनुभएको छ।
कार्यवाहक नगर प्रमुख आलमले नगरवासीले सरसफाइ सेवामा कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताउनुभयो। उहाँले आन्दोलनका कारण शहरको नियमित सरसफाइ प्रभावित हुन नदिन सम्बन्धित सबै पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो।
साथै, महानगरपालिकाले सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइ कर्मीहरूको जायज मागलाई संवादमार्फत समाधान गर्न पहल जारी रहने जनाएको छ।









