ठोरीमा १५८ केजी गाँजा बरामद, सशस्त्र प्रहरीद्वारा कर्डन एन्ड सर्च अपरेशन

 

हरिकिशोर शर्मा / ११ जिराभवानी, पर्सा

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले ठोरी गाउँपालिका–४ मिलचोक क्षेत्रमा सञ्चालन गरेको कर्डन एन्ड सर्च अपरेशनका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुमन बोगटीको कमाण्डमा खटिएको ५४ सदस्यीय टोलीले गम्भिर श्रेष्ठको जस्ताले छाएको पक्की घरलाई घेरा हाली खानतलासी गरेको थियो।

नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको खानतलासीका क्रममा ११ वटा प्लास्टिक तथा बोराका पोकामा लुकाइराखिएको १५८ केजी प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ। घटनाका मुख्य आरोपित गम्भिर श्रेष्ठ फरार रहेको जनाइएको छ।

गम्भिर श्रेष्ठ फेला नपरेकाले उनका दुई नाबालक सन्तानको अवस्थालाई ध्यानमा राख्दै उनकी श्रीमती अस्मिता तामाङ श्रेष्ठलाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको रोहवरमा छाडिएको छ।

घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक मिलनबहादुर विकले बरामद लागूऔषध सम्बन्धी थप अनुसन्धान जारी रहेको बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित