पर्सा, ३० जेठ ।
१२ औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजले सखुवा प्रसौनी गाउँपालिकाको सहकार्यमा शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारमा योग शिविर आयोजना गरेको छ।
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा आयोजित शिविरमा करिब ३५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले योग स्वस्थ जीवनको आधार भएको बताउनुभयो। उहाँले योगको नियमित अभ्यासले शारीरिक तन्दुरुस्तीका साथै मानसिक शान्ति र आत्मिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। स्वस्थ समाज निर्माणका लागि योगलाई जीवनशैलीकै अंग बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
गाउँपालिका अध्यक्ष यादवले स्थानीय स्तरमा योगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै भारतीय महावाणिज्य दूतावासप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत डी.एस. मीणाले योग मानव स्वास्थ्य र कल्याणका लागि विश्वव्यापी रूपमा स्वीकारिएको अभ्यास भएको बताउनुभयो। उहाँले योगले मानिसलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनतर्फ उन्मुख गराउने उल्लेख गर्दै नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन समेत योगदान पुर्याएको धारणा राख्नुभयो।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पर्सास्थित सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। पतञ्जलि योग समितिका सदस्य, विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए।
योग प्रशिक्षकहरूको नेतृत्वमा सञ्चालन गरिएको शिविरमा सहभागीहरूले विभिन्न योगासन तथा प्राणायाम अभ्यास गरेका थिए। कार्यक्रममा सहभागीहरूले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
भारतीय महावाणिज्य दूतावास, वीरगंजले अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा सञ्चालन गर्ने कार्यक्रमहरूको श्रृंखलाअन्तर्गत यो पहिलो कार्यक्रम रहेको जनाएको छ।








