पर्सा । पर्सा जिल्लाका १५ महिनासम्मका सबै बालबालिकाले समयमै नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा क्रस–चेक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ। यस अनुगमनमार्फत खोप सेवाको वास्तविक अवस्था स्थलगत रूपमा मूल्यांकन गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न समयमै खोप लगाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ। सोही उद्देश्यअनुसार स्वास्थ्य कार्यालय पर्साको टोलीले दुबै गाउँपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर खोपको अवस्था, सेवा प्रवाह र अभिलेख व्यवस्थाबारे विस्तृत अनुगमन गरेको हो। यस क्रममा स्थानीय स्तरमा खोप सेवाको पहुँच र प्रभावकारिता पनि मूल्यांकन गरिएको थियो।

अनुगमनका क्रममा अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार दुबै गाउँपालिकामा खोप कार्यक्रम अपेक्षाकृत प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखिएको छ भने अभिभावकहरू पनि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेको पाइएको छ। केही स्थानमा देखिएका सामान्य कमजोरी सुधार गर्न आवश्यक निर्देशनसमेत दिइएको उनले बताए।
टोलीले सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत महुवन र सुगौली टोलामा रहेका खोप केन्द्रहरूको समेत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी खोपको महत्व, छुटेका बालबालिकालाई समयमै खोप केन्द्रसम्म ल्याउने व्यवस्था तथा आगामी दिनमा नियमित खोप सुनिश्चित गर्ने विषयमा परामर्श दिएका थिए। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न पनि जोड दिइएको थियो।
स्वास्थ्य कार्यालय पर्साकी जनस्वास्थ्य अधिकृत शबनम कार्कीले घरदैलो तथा क्रस–चेक अनुगमनले छुटेका बालबालिकाको पहिचान गर्न र खोप कार्यक्रमको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण सहयोग पुग्ने बताइन्। उनले आगामी दिनमा यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिइन्।
अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य राहुल गुप्ता, स्वास्थ्य कार्यालयका शर्मिला न्यौपाने लगायतको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय पर्साका अनुसार खोपबाट बच्न सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रत्येक बालबालिकाले निर्धारित उमेरभित्र सबै आवश्यक खोप पूरा गर्नु अत्यावश्यक छ। यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाइने जनाइएको छ। साथै, नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउन यस्ता घरदैलो तथा अनुगमन कार्यक्रमलाई निरन्तर अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ।









