विश्व साइकल दिवसको अवसरमा वीरगंजमा साइकल र्‍याली सम्पन्न

 

वीरगंज। विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले वीरगञ्ज साइकलिङ क्लबको सहकार्यमा बुधबार वीरगंजमा साइकल र्‍याली आयोजना गरेको छ।

महावाणिज्यदूत देवी सहाय मीणाले दूतावास परिसरबाट र्‍यालीको शुभारम्भ गरेका थिए। र्‍याली घण्टाघर, माईस्थान, आदर्शनगर तथा छपकैयालगायतका क्षेत्र हुँदै नेपाल–भारत सीमास्थित शंकराचार्य गेटसम्म पुगेको थियो। त्यसपछि सहभागीहरू सोही मार्ग हुँदै पुनः दूतावास परिसरमा फर्किएका थिए।

र्‍यालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले छोटो दूरीको यात्राका लागि साइकल प्रयोग गरी स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल यंग इन्टरप्रेनर्स फोरम (वीरगंज च्याप्टर) का सदस्य, वीरगंज साइकलिङ क्लबका सदस्य, नागरिक समाजका प्रतिनिधि, दूतावासका अधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन दूतावास परिसरमा आयोजित संक्षिप्त समारोहमार्फत गरिएको थियो। सो अवसरमा महावाणिज्यदूत मीणाले विश्व साइकल दिवसको महत्वबारे प्रकाश पार्दै साइकल चलाउनु स्वास्थ्यका लागि लाभदायक, वातावरणमैत्री तथा किफायती यातायातको माध्यम भएको बताए। यस्ता कार्यक्रमहरूले भारत र नेपालबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरे।

कार्यक्रमले स्वस्थ जीवनशैली तथा दिगो यातायात प्रवर्द्धनप्रति नेपाल र भारतको साझा प्रतिबद्धतालाई थप उजागर गरेको दूतावासले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित