कोलकातामा वैशाली इन्टरनेशनल विद्यापीठद्वारा भव्य अखिल भारतीय कवि सम्मेलन सम्पन्न

 

कोलकाता । हिन्दी पत्रकारिताको गौरवशाली २०० वर्ष पूरा भएको अवसरमा वैशाली इन्टरनेशनल विद्यापीठ र मानवअधिकार टुडेको संयुक्त आयोजनामा कोलकातास्थित ३३, शेक्सपियर सरणीमा भव्य सम्मान समारोह तथा अखिल भारतीय कवि सम्मेलन सम्पन्न भएको छ।

भारत तथा नेपालसहित विभिन्न देश र राज्यबाट आएका प्रतिष्ठित पत्रकार, साहित्यकार, शिक्षाविद् तथा समाजसेवीहरूको सहभागितामा सम्पन्न कार्यक्रमको उद्घाटन दीप प्रज्वलन तथा सरस्वती वन्दनासहित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सिक्किमको पाक्योङस्थित विश्वविद्यालयका कुलपति प्रोफेसर मोहनले हिन्दी पत्रकारिताको गौरवपूर्ण इतिहास, लोकतान्त्रिक मूल्यहरूको संरक्षण तथा सामाजिक चेतना अभिवृद्धिमा पत्रकारहरूको महत्वपूर्ण योगदानबारे प्रकाश पारे। उनले पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र उत्तरदायित्वलाई पत्रकारिताको मूल आधार बनाउनुपर्नेमा जोड दिए।

विशिष्ट अतिथिका रूपमा सहभागी कोल इन्डियाका प्रमुख सतर्कता अधिकृत (चीफ भिजिल्यान्स अफिसर) बी.के. त्रिपाठीले पत्रकारितामा नैतिक मूल्य, पारदर्शिता र सामाजिक उत्तरदायित्वको महत्वबारे आफ्नो धारणा राखे।

नेपालबाट सहभागी वरिष्ठ पत्रकार रुद्रप्रसाद सुवेदी तथा वीरगञ्जका वरिष्ठ पत्रकार मोहम्मद सद्दाबले नेपाल–भारतबीचको सांस्कृतिक, साहित्यिक तथा पत्रकारितासम्बन्धी सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

कार्यक्रमको अध्यक्षता मानवअधिकार टुडेका सम्पादक तथा वैशाली इन्टरनेशनल विद्यापीठका संस्थापक डा. शशि भूषण कुमारले गरेका थिए। अध्यक्षीय मन्तव्यका क्रममा उनले हिन्दी पत्रकारिताको दुई सय वर्षे गौरवपूर्ण यात्राको स्मरण गर्दै पत्रकार, साहित्यकार तथा शिक्षाविद्हरूको योगदानको प्रशंसा गरे। उनले समाज निर्माण, जनचेतना अभिवृद्धि तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रमको सञ्चालन वैशाली इन्टरनेशनल विद्यापीठकी उपनिर्देशक डा. उर्वशी श्रीवास्तवले गरेकी थिइन्।

यस अवसरमा आयोजित विशेष सम्मान समारोहमा देश–विदेशबाट आएका ५१ जना पत्रकार, शिक्षाविद्, साहित्यकार तथा समाजसेवीलाई “तेज प्रताप चौहान अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान–२०२६” तथा “पद्मभूषण राहुल सांकृत्यायन विद्या विरासत सम्मान–२०२६” प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षाविद्, साहित्यकार तथा सञ्चारकर्मीहरू रहेका थिए।

नेपालबाट सहभागी पत्रकार प्रतिनिधिमण्डलमा रुद्रप्रसाद सुवेदी, अजमत अली सिद्दिकी, रमेशचन्द्र कुमाल, युवराज पाण्डेय, गिरीश गुप्ता, नमस्कार शाह, अमर खड्का, सोमबहादुर गुरुङ तथा शिवेन्द्र बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै संस्थापक डा. शशि भूषण कुमारले वैशाली इन्टरनेशनल विद्यापीठको स्थापना यसै वर्ष जनवरी महिनामा प्राचीन नालन्दा विश्वविद्यालय परिसरमा सम्पन्न सार्क इन्टरनेशनल जर्नालिस्ट फोरमको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा घोषणा गरिएको जानकारी दिए। उनले भारतीय भाषा, साहित्य, पत्रकारिता, शिक्षा, संस्कृति तथा अन्तर्राष्ट्रिय बौद्धिक संवादलाई साझा मञ्च प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए।

संस्थाले सम्मानित अतिथिहरूलाई स्मृतिचिन्ह, प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गरेको थियो। सहभागीहरूले कार्यक्रमलाई हिन्दी पत्रकारिता, साहित्य तथा शिक्षा क्षेत्रका लागि महत्वपूर्ण र प्रेरणादायी पहलका रूपमा लिएका थिए।

सम्मान समारोहपश्चात् आयोजित अखिल भारतीय कवि सम्मेलनमा भारतका विभिन्न राज्य तथा नेपालबाट आएका कवि र शायरहरूले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए। कविता तथा गजल वाचनले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

धन्यवाद ज्ञापन तथा राष्ट्रगानसँगै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित