राप्रपाबाट अलग्गिँदै धवलशमशेर राणाको नयाँ राष्ट्रवादी राजनीतिक अभियान घोषणा

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता धवलशमशेर राणाले नयाँ राष्ट्रवादी राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा असन्तुष्ट राप्रपा नेताहरूबीच भएको छलफलपछि उनले देशमा विश्वासयोग्य राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ राजनीतिक यात्रा अघि बढाउने निर्णय सार्वजनिक गरेका हुन्।

छलफलपश्चात् जारी गरिएको वक्तव्यमा राणाले पार्टीभित्र आफूले सम्हालिरहेको जिम्मेवारी वा पदबारे कुनै उल्लेख नगरी राष्ट्रहित, विकास र समृद्धिलाई केन्द्रमा राखेर नयाँ अभियान सञ्चालन गरिने बताएका छन्। उनले देशप्रति समर्पित नागरिक तथा विशेष गरी युवा पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

देशको भविष्य निर्माणमा योगदान दिन इच्छुक राष्ट्रवादी सोच भएका सबै व्यक्ति र समूहलाई अभियानसँग जोडिन आग्रह गर्दै राणाले वर्तमान राजनीतिक परिस्थितिले नयाँ विकल्पको आवश्यकता महसुस गराएको बताएका छन्।

वक्तव्यमा उनले राप्रपालाई जनअपेक्षा र जनभावनाअनुसार अघि बढाउने प्रयास भए पनि त्यसले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्। यही कारणले वैकल्पिक राजनीतिक अभियानको अवधारणा अघि सारिएको उनको भनाइ छ।

राणाको यो घोषणालाई राप्रपाभित्र बढ्दो असन्तुष्टि र आन्तरिक राजनीतिक समीकरणको परिणामका रूपमा हेरिएको छ। यद्यपि नयाँ अभियानको संगठनात्मक संरचना, नेतृत्व तथा आगामी कार्यक्रमबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित