जलेशवर सरार्फ।
काठमाडौं / गृहमन्त्रीको शपथ लिएको एक महिना नपुग्दै रास्वपा सांसद समेत रहेका सुदन गुरुङ गम्भीर प्रश्नको घेरामा परेका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्टसँग उनको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि प्रश्न उठेको हो ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदैमा अस्वाभाविक सम्पत्तिमाथि प्रश्नको सामना गर्नुपरेका उनको भट्टसँगको व्यापारिक साझेदारी भएको प्रमाण सार्वजनिक भएको हो ।
‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र गुरुङवीच साझेदारी रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
बिचौलियाका रूपमा चिनिएका भट्ट र सुदन गुरुङबीचको यो व्यावसायिक कनेक्सन सार्वजनिक भएपछि यसबारे चौतर्फी हलचल देखिएको छ ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शेयर लगानी गर्दैमा कसैलाई दोषी करार गर्न नमिल्ने तर्क गरे । तर दोषी प्रमाणित भएमा जोसुकै भए पनि पार्टीले कारबाही गर्ने उनले बताए ।
बुर्लाकोटी भन्छन्, ’उक्त सेयर लगानी गैरकानुनी रूपमा गरिएको हो वा होइन, त्यस विषयमा पार्टीले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्छ। मिडियामा समाचार आइसकेपछि सरकारले नै यसको अनुसन्धान गर्नेछ। यदि अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा जोसुकै भए पनि पार्टीले कारबाही गर्छ ।’








