काठमाडौं । आरती भोग परिवारले काठमाडौंको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र लगायतका अस्पतालहरूमा उपचाररत बिरामी तथा उनीहरूका कुरुवालाई दैनिक रूपमा निःशुल्क शुद्ध शाकाहारी वैष्णवी भोजन वितरण गर्दै आएको छ।
अस्पतालमा रहेका बिरामीका कुरुवाहरूका अनुसार संस्थाले नियमित रूपमा पौष्टिक तथा पर्याप्त खाना उपलब्ध गराउँदै आएको छ। वितरण गरिने भोजनमा दाल, भात, तरकारी, अचार, दही, चिनी तथा खिर लगायतका परिकार समावेश हुने गरेका छन्।
नेपालका विभिन्न ७७ जिल्लाबाट सरकारी अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी गरिब, असहाय, विपन्न तथा दलित समुदायका हुने गरेका छन्। उपचार खर्च नै धान्न कठिन हुने अवस्थामा दैनिक खानाको जोहो गर्न झन् चुनौतीपूर्ण हुने गरेको अवस्थामा आरती भोग परिवारको यो पहलले ठूलो राहत पुगेको कुरुवाहरूले बताएका छन्।
निःशुल्क भोजन प्राप्त हुँदा बिरामी तथा कुरुवाहरूलाई आर्थिक भार कम हुनुका साथै उपचारमा ध्यान केन्द्रित गर्न सहज भएको उनीहरूको भनाइ छ।
पदाधिकारीहरूको परिचय आरती भोग परिवारका संस्थापक अध्यक्ष डा. बिन्दु बाबा अर्याल रहेका छन् भने उपाध्यक्षमा निरु देवी कार्की, महासचिवमा मोहन कुमार ढुंगेल, कोषाध्यक्षमा युवराज तिमिल्सिना तथा सह-कोषाध्यक्षमा शंकरराज गौतम रहेका छन्। त्यसैगरी सदस्यहरूमा रामशरण अर्याल, मेघनाथ भुर्तेल, रिता ढुंगेल, लुकेन्द्रमान सिंह कार्की (प्रदीप), दिपक थापा र तुलसा के.सी. रहेका छन्।
संस्थाले निःशुल्क भोजन सेवा विस्तार तथा निरन्तरता दिन सहयोगको अपेक्षा गरेको छ। यस अभियानमा सहयोग गर्न इच्छुक व्यक्तिहरूले संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।









