वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाद्वारा बाराको प्रसौनीमा विद्यालय शिलान्यास

 

 

राहुल गुप्ता /वीरगंज

नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

२०८२ साल चैत ३० गते आयोजित समारोहमा भारतका वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो।

भारत सरकारको अनुदान सहयोगमा करिब ४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत सञ्चालन भइरहेको हो। परियोजनाअन्तर्गत तीन तले दुई वटा भवन निर्माण गरिनेछन्, जसमा १२ वटा थप कक्षाकोठा, क्यान्टिन, भोजनालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालाहरू स्थापना गरिनेछन्।

कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीनाले यस परियोजनाले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एचआईसीडीपी कार्यक्रम नेपाल–भारत विकास साझेदारीको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा भारत सरकार निरन्तर सहयोगरत रहेको बताउनुभयो।

हाल मधेश प्रदेशमा भारत सरकारले ८७ वटा परियोजना स्वीकृत गरेकोमा ६१ वटा सम्पन्न भइसकेका छन् भने २६ वटा कार्यान्वयनको चरणमा रहेका छन्। तीमध्ये ५२ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन्। बारा जिल्लामा मात्र ४ वटा परियोजना स्वीकृत भएकोमा ३ वटा सम्पन्न भइसकेका छन् र एक निर्माणाधीन अवस्थामा रहेको छ।

यसैगरी भारत सरकारले हालसम्म नेपालभर १०४९ वटा एम्बुलेन्स र ३८१ वटा विद्यालय बस उपलब्ध गराएको छ। मधेश प्रदेशमा २३२ एम्बुलेन्स र ४० विद्यालय बस तथा बारा जिल्लामा ४० एम्बुलेन्स र ६ विद्यालय बस वितरण गरिएको जानकारी दिइयो।

हाल विद्यालयमा करिब २४०० विद्यार्थी अध्ययनरत रहेका छन्। नयाँ भवन निर्माणसँगै शैक्षिक पूर्वाधार सुदृढ भई विद्यार्थीहरूले सुरक्षित र आधुनिक शैक्षिक वातावरण पाउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा अध्यक्षता गर्दै प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले श्री बेङ्गा साह माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनले स्थानीय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आधुनिक र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले यस परियोजना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भारत सरकारको सहयोगप्रति आभार प्रकट गर्नुभयो। साथै, निर्माण कार्य समयमै सम्पन्न गरी प्रभावकारी रूपमा उपयोगमा ल्याउन गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव लगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित