लाखौं खर्चेर कुवेत पुगेका युवा अलपत्र: सन्दीप यादव उद्धार र न्यायको पर्खाइमा

 

दिपेश कुमार साह रौतहट/कुवेत

उज्ज्वल भविष्यको सपना बोकेर वैदेशिक रोजगारीका लागि कुवेत पुगेका रौतहटका एक युवा अहिले विदेशी भूमिमा अलपत्र परेका छन्। आकर्षक तलब, सहज काम र राम्रो सुविधा दिने आश्वासनमा विदेश गएका २४ वर्षीय सन्दीप यादव अहिले चार महिनादेखि बेरोजगार अवस्थामै कोठाभित्र सीमित जीवन बिताउन बाध्य भएका छन्।

कटहरिया नगरपालिका–३, बिर्ती प्रष्टोकाका यादवले करिब २ लाख ८९ हजार रुपैयाँ खर्च गरेर छ महिनाअघि कुवेत प्रस्थान गरेका थिए। उनीसहित पाँच जना युवालाई राम्रो रोजगारीको प्रलोभन देखाएर पठाइएको थियो। तर, विदेश पुगेको केही दिनमै उनीहरूको सपना चकनाचुर भएको पीडितले बताएका छन्।

यादवका अनुसार सुरुमा वाचा गरिएको कामभन्दा फरक प्रकृतिको काममा खटाइएको थियो। उनलाई शौचालय सफा गर्ने तथा फोहोर व्यवस्थापन जस्ता जोखिमपूर्ण काममा लगाइएको थियो भने आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराइएको थिएन। “कमाइ कम छ, खर्च धान्नै गाह्रो भयो,” यादवले भने, “महिनाको करिब १०० दिनार आम्दानीमध्ये आधाभन्दा बढी खर्चमै सकिन्थ्यो, बचत नाममात्र हुन्थ्यो।”

स्थिति झन् बिग्रँदै गएपछि उनले नेपाल फर्किन एजेन्टसँग पटक–पटक आग्रह गरे। सुरुवातमा घर फर्काउने आश्वासन दिइए पनि पछि उल्टै थप ४५० दिनार माग्दै दबाब दिइएको उनले गुनासो गरेका छन्। रकम जुटाउन नसकेपछि एजेन्ट सम्पर्कविहीन भएको बताइएको छ।

यादव कुवेतस्थित एक निजी सुरक्षा सेवा कम्पनीमा काम गर्न भन्दै नेपालस्थित नमो बुद्ध रिक्रुट्मेन्ट प्रालि मार्फत पठाइएका थिए। एजेन्टका रूपमा चिनिएका सुजन भट्ट अहिले सम्पर्क बाहिर रहेको पीडितले बताएका छन्। दुई महिना काम गरेपछि काम छोड्न बाध्य भएका यादव विगत चार महिनादेखि पूर्ण रूपमा बेरोजगार छन्।

उनले आफूले पाउनु पर्ने तलबसमेत नपाएको गुनासो गरेका छन्। हाल उनीसहित पाँचै जना एउटै कोठामा न्यूनतम सुविधा बिना बसिरहेका छन्। उनीहरूको बसोबासको अवस्था अत्यन्त दयनीय रहेको छ—ओछ्यानको अभाव, पर्याप्त खानाको कमी र घर फर्कने कुनै निश्चितता छैन।

कम्पनीले सुरुमा केही महिनाभित्र नेपाल फर्काउने आश्वासन दिएको भए पनि अहिले उनीहरूको अवस्थाबारे चासो लिने कोही नभएको पीडितको भनाइ छ। सम्बन्धित मेनपावर कम्पनी र एजेन्ट दुवै सम्पर्कविहीन रहँदा समस्या झन् जटिल बनेको छ।

यो घटना केवल एक व्यक्तिको पीडा मात्र नभई वैदेशिक रोजगारीको नाममा हुने ठगी र गैरजिम्मेवारीको प्रतिनिधि उदाहरण बनेको छ। लाखौं रुपैयाँ असुलेर युवाहरूलाई विदेश पठाउने तर समस्यामा पर्दा बेवास्ता गर्ने प्रवृत्तिमाथि नियन्त्रण कहिले हुने भन्ने प्रश्न पुनः उठेको छ।

यता, पीडित सन्दीप यादव र उनका साथीहरू अझै पनि आशावादी छन्। उनीहरूले नेपाल सरकार, सम्बन्धित दूतावास तथा सरोकारवाला निकायले छिट्टै पहल गरी आफ्नो उद्धार गर्ने र न्याय दिलाउने अपेक्षा गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित