ठेकेदार दिपेन्द्र यादवसँग लेखापाल रामवीर चौरसियाले घर निर्माण सामग्री लिएको आरोप ।

 

 

शैलेश गुप्ता \२२ चैत्र पोखरिया

पर्सा — पर्साको पोखरिया नगरपालिकामा कार्यरत लेखापाल रामवीर चौरसियामाथि निजी घर निर्माणका क्रममा ठेकेदार दिपेन्द्र यादवबाट घर निर्माण सामग्री लिएको गम्भीर आरोप लागेको छ।

स्थानीय स्रोतका अनुसार चौरसियाले वीरगन्जस्थित आफ्नो निजी घर निर्माण गरिरहेका छन्। सो क्रममा उनले विभिन्न निर्माण व्यवसायी तथा ठेकेदारहरूसँग समन्वय गरी कसैसँग छड, कसैसँग सिमेन्ट, कसैसँग गिटी, कसैसँग बालुवा तथा कसैसँग इँटा लिएको दाबी गरिएको छ।

यस्तै, पोखरिया नगरपालिकाअन्तर्गत वडाहरूमा सञ्चालन गरिएको बोटबिरुवा रोपण तथा वितरण कार्यक्रमसँग सम्बन्धित रकम पास गराउने उद्देश्यले ठेकेदार दिपेन्द्र यादवले चौरसियालाई विभिन्न निर्माण सामग्री उपलब्ध गराएको आरोप पनि सार्वजनिक भएको छ।

उक्त कार्यक्रमअन्तर्गत जिन्सी सम्बन्धी बोटबिरुवा खरिद तथा वितरणको काम ठेकेदार यादवले गरेका थिए। तर, कामको गुणस्तर कमसल रहेको भन्दै नगर प्रमुखको निर्देशनअनुसार जिन्सी शाखाले हालसम्म भुक्तानी रोकेको थियो। हाल सो जिन्सी शाखाको जिम्मेवारीसमेत लेखापाल चौरसियाकै हातमा रहेको बताइएको छ।

स्थानीयवासीका अनुसार कमसल कामको समेत भुक्तानी गराउन चौरसिया सक्रिय रहेको आरोप लगाइएको छ।

यस घटनाले सार्वजनिक पदमा रहेका कर्मचारीको आचरण, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। आरोप सत्य ठहरिएमा यो पदको दुरुपयोगको विषय बन्न सक्ने भन्दै स्थानीयवासीहरूले निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यस विषयमा लेखापाल रामवीर चौरसियासँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित