वीरगंज, पर्सा — पर्सा जिल्लाका सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। The Leprosy Mission Nepal को आयोजनामा स्वास्थ्य कार्यालय वीरगंज, पर्साको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा The Leprosy Mission Nepal का प्रशिक्षक अंमजाद मिकरानीले कुष्ठरोगको परिचय, यसको लक्षण, समयमै पहिचान र उपचारका विधिहरूका साथै रोगप्रति समाजमा फैलिएको भ्रम तथा विभेद अन्त्य गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग भएको उल्लेख गर्दै प्रारम्भिक अवस्थामा पहिचान गरी उपचार गरिए अपांगता हुनबाट बच्न सकिने बताउनुभयो। साथै उहाँले समुदायमा जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकाय र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।![]()
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय वीरगंज, पर्साका प्रमुख लिलामणी पोखरेलले कुष्ठरोग नियन्त्रण तथा उन्मूलनका लागि समुदायस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले कुष्ठरोगबारे समाजमा अझै पनि विभिन्न भ्रम र डर रहेको उल्लेख गर्दै त्यसलाई हटाउन सञ्चारकर्मी तथा सरोकारवालाहरूले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। पोखरेलले स्वास्थ्य संस्थामा उपलब्ध निःशुल्क उपचार सेवा बारे जानकारी गराउँदै रोगको लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउन सबैलाई आग्रह गर्नुभयो।
The Leprosy Mission Nepal ले मधेश प्रदेशका पर्सा, बारा र रौतहट जिल्लामा कुष्ठरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा २०८३ साल फागुनसम्म कुल १०९ जना कुष्ठरोगका बिरामी फेला परेका छन्। तीमध्ये बहुब्याक्टेरियल (MB) प्रकारका पुरुष ५९ जना र महिला २७ जना रहेका छन् भने पाउसीब्याक्टेरियल (PB) प्रकारका महिला १९ जना र पुरुष १२ जना रहेका छन्।
त्यसैगरी पर्सा जिल्लाका विभिन्न पालिकामा पनि कुष्ठरोगका बिरामी फेला परेका छन्। तथ्यांक अनुसार वीरगंज महानगरपालिकामा १९ जना, पकाहामैनपुर गाउँपालिकामा ५ जना, जिराभवानी गाउँपालिकामा २ जना, पटेर्वासुगौली गाउँपालिकामा १ जना, बहुदरमाई नगरपालिकामा २ जना, पोखरिया नगरपालिकामा ४ जना, धोबिनी गाउँपालिकामा १ जना र छिपहरमाई गाउँपालिकामा ५ जना कुष्ठरोगका बिरामी फेला परेका छन्।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले पनि कुष्ठरोगबारे आफ्ना धारणा राखेका थिए। चर्चका निरज अचार्य, ब्राह्मण समाजका अमोद पाण्डे, मदरसाका प्रतिनिधि तमुनेशा खातुन तथा फार्मेसीका प्रतिनिधि काशिम अंसारीले समुदायमा कुष्ठरोगबारे जनचेतना फैलाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि,स्वयम सहायता समुहका प्रतिनिधि पत्रकार, चर्च तथा मदरसा प्रतिनिधि, फार्मेसी व्यवसायी लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा कुष्ठरोगबारे सही जानकारी फैलाउन तथा रोगप्रति हुने विभेद अन्त्य गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।








