काठमाडौं: प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति Ram Chandra Paudel ले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्।
प्रतिनिधिसभाको पहिलो बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य Arjun Narsingh KC ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनमा वाचन गर्ने कार्यसूची रहेको छ। त्यसपछि राष्ट्रपति पौडेलले Balen Shah लाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ। शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई औपचारिक जानकारी दिने कार्यक्रम तय गरिएको छ।
बैठकमा सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार संसद्का कामकारबाही सञ्चालन गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा पेश गर्नेछन्।
यसैबीच, सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ। सोही अनुसार केसीले सभामुख अनुपस्थित हुँदा बैठक सञ्चालन गर्न केही सांसदहरूलाई मनोनयन गर्नेछन्।
त्यसपछि अधिवेशन सुरु भएको अवसरमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले अधिवेशनको प्रारम्भिक कार्यसूची तय गरेको हो।
बुधबार बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ। सो निर्णयअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ।
संसद् सचिवालयका प्रवक्ता Ekaram Giri का अनुसार सभामुख निर्वाचनको विस्तृत कार्यतालिका आज नै सार्वजनिक गरिनेछ।
संविधानअनुसार निर्वाचनपछि सुरु भएको पहिलो अधिवेशनको मितिले १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। साथै, सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने तथा दुवै फरक–फरक दलबाट हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ।








