ठोरीसहित पर्सा क्षे.न. ४ का चौतर्फि विकासका मुद्दा लिएर सांसद शाक्यद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

 

हरिकिशोर शर्मा / चैत १७ जिराभवानी पर्सा ।

आज मधेश प्रदेशका सांसद र प्रधानमन्त्री बालेन्द्र शाहबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताको क्रममा माननीय सांसद टेकबहादुर शाक्यज्यूले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका ६ वटै पालिकालाई केन्द्रमा राखी चौतर्फी समस्या, सम्भावना, निकास र विकासका विषयहरू लिखित, मौखिक तथा बौद्धिक रूपमा ध्यानाकर्षण गराएका थिए।

भेटका क्रममा सांसद शाक्यले विशेषगरि ठोरी क्षेत्रको डेढुखोला र इच्छानगरमा पुल, तथा जिराभवानी–१ वालुवाको पुलको अभावका कारण स्थानीय नागरिकहरूले दैनिक रूपमा कठिनाइ भोग्नु परेको र आकस्मिक अवस्थाहरूमा ज्यानसमेत गुमाउनु परेको गम्भीर समस्या औंल्याउनुभयो । अवरुद्ध छोटी भन्सार भिसुवा, जानकीटोला र ठोरीको भन्सारलाई स्तरोन्नति गरी अधुरो हुलाकी राजमार्ग पूर्णता दिई चितवन–भरतपुर जोड्न सकियो भने जनताको जीवनस्तरमा व्यापक परिवर्तन आउने बताउनुभयो ।

यसैगरी, ठोरी क्षेत्रमा कृषकहरूको जीवनस्तर उकास्न राप्ती सिँचाइ आयोजना तथा ठुटेखोला सिँचाइ परियोजनाको डीपीआर तयार गरी शीघ्र कार्यान्वयन गर्न सके कृषिमा ठूलो परिवर्तन आउने र हजारौं किसानको जीवनस्तर उकासिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सांसद शाक्यले विगतका सरकारहरूको ढिलासुस्तीका कारण अधुरै रहेका अस्पताल तथा खानेपानी आयोजनाहरू हालसम्म अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै ती परियोजनाहरूलाई प्राथमिकताका साथ छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

यसका साथै पर्सा क्षेत्र नं. ४ अन्तर्गतका अन्य पालिका जिराभवानी, जगरनाथपुर, धोबिनी, कालिकामाई, छिपरमाई र अन्य दुई वडाहरूका प्रत्येक समस्यालाई बुदागतरुपमा माननीय सांसद टेकबहादुर शाक्यले सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित