काव्या एकेडेमीद्वारा कक्षा–१० का विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता/ वीरगंज

वीरगंज –१५ स्थित काव्या एकेडेमीद्वारा कक्षा–९ का विद्यार्थीहरूको आयोजनामा कक्षा–१० का विद्यार्थीहरूको सम्मानमा भव्य बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रम शैक्षिक, सांस्कृतिक तथा सम्मानका विविध कार्यक्रमहरूसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रममा काव्या एकेडेमीका Managing Director हरिन्द्र प्रसाद कुशवाहा सभापतिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा NPABSAN वीरगञ्जका नगर अध्यक्ष तथा सगरमाथा एकेडेमीका संस्थापक–प्रधानाध्यापक जियालाल गुप्ता रहनुभएको थियो। त्यसैगरी इन्जिनियर शशि भूषण प्रसाद, B.P.S. +2 का HR Director सन्दीप कुशवाहा, समाजसेवी तथा शिक्षाप्रेमी मनीर देवण लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक–शिक्षिका,अभिभावक तथा विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमको उद्‍घोषण काव्या एकेडेमीकी प्रिन्सिपल श्रीमती ममता कुशवाहा र कक्षा–९ की छात्रा श्रेया कुशवाहाले गर्नुभएको थियो। कार्यक्रमको सुरुवात पानस प्रज्वलन तथा राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, विभिन्न वक्ताहरूका प्रेरणादायी भनाइ तथा कक्षा–१० का विद्यार्थीहरूले आफ्ना अनुभव साटासाट गरेका थिए, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित सबैको मन जितेका थिए। साथै कक्षा–१० का विद्यार्थीहरूलाई ‘Token of Love’ प्रदान गरी उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।

समापन सत्रमा सभापति हरिन्द्र प्रसाद कुशवाहाले मन्तव्य व्यक्त गर्दै बिदाइ हुँदै गरेका विद्यार्थीहरूको सफल भविष्यको कामना गर्नुभयो। उहाँले आगामी जीवन यात्रामा निरन्तर प्रगति गर्दै अगाडि बढ्न प्रेरणा समेत दिनुभयो।यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूबीच आपसी आत्मीयता, सम्मान तथा विद्यालयप्रतिको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित