वीरगंजमा १२० विद्यार्थीलाई साइबर अपराधबारे प्रशिक्षण

 

वीरगंज — ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त आयोजनामा वीरगंजमा १२० जना विद्यार्थीलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटनाहरू बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा खेतान बहुमुखी क्याम्पसका सल्लाहकार तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले प्रविधिको प्रयोग बढेसँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको बताए। उनले विशेष गरी माध्यमिक तहका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार विद्यार्थीहरू नै प्रविधिको सबैभन्दा बढी प्रयोग गर्ने समूह भएकाले उनीहरूलाई साइबर सुरक्षाबारे पर्याप्त जानकारी दिनु अत्यन्त जरुरी छ। उनले साइबर अपराध जस्ता संवेदनशील विषयमा विद्यार्थीहरू स्वयं सचेत रहनुका साथै आफ्ना साथीभाइ र समुदायलाई पनि सचेत गराउनुपर्नेमा जोड दिए।

खेतानले समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख विक्रम सुबेदीले साइबर अपराधका विभिन्न प्रकार, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर सुरक्षाका उपायबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर अपराधबाट कसरी सुरक्षित रहने भन्नेबारे महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा साइबर सुरक्षाबारे जागरूकता बढाउनुका साथै समाजमा हुने सम्भावित साइबर अपराध नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित