हरिकिशोर शर्मा / फागुन २७ जिराभवानी पर्सा
पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित भूमिगत जलसिँचाइ (डिप बोरिङ) आयोजनाको शिलान्यास गरिएको छ ।
बुधबार आयोजित शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पीएल श्रेष्ठले भल्भबक्ससहितको डिप बोरिङको औपचारिक शिलान्यास गर्नुभयो । संघीय सरकारको अनुदानमा रोटरी ड्रिलिङ विधिबाट निर्माण हुन लागेको यो आयोजनाले वर्षौंदेखि सिँचाइको अभाव झेलिरहेका स्थानीय कृषकहरूको समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

सेलाङटोल भूमिगत जलसिँचाइ उपभोक्त समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठ भन्नु हुन्छ, “भूमिगत सिँचाइ प्रणालीलाई व्यवस्थित बनाउन भलकसको समेत निर्माण हुनेछ । यसले पानीको उचित वितरण र दिगो व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ ।”
ठोरी गापाका पूर्व अध्यक्ष पीएल श्रेष्ठले जानकारी दिदै भन्नुभयो, “यो आर्थिक वर्षभित्रै काम सम्पन्न गरी खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिनेछ । यसले क्षेत्रमा थप सिँचाइ सुविधा पुग्नुका साथै विभिन्न बालीको उत्पादन वृद्धि गर्न मद्दत गर्नेछ ।” ठेक्का प्रक्रियामार्फत आजै शिलान्यास भएसँगै आयोजना सुचारु रूपमा अगाडि बढ्ने संस्थाका सचिव रवि तामाङले जानकारी दिनुभयो ।
समितिका उपाध्यक्ष तथा स्थानीय कृषक हर्कबहादुर श्रेष्ठले कृषकहरूको दुःख व्यक्त गर्दै भन्नुभयो, “२०२१ सालदेखि सिँचाइ सुविधाविना वर्षे झरीको भरमा मात्र खेती गर्दै आएका हामी यो वर्षदेखि बाली लगाउन पाउने भयौं । सिँचाइ सुविधा ल्याउन पहल गर्नुहुने पूर्वअध्यक्ष पीएल बाबुलाई हामी कृषकहरूको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छौं । उहाँले हाम्रो वर्षौं पुरानो समस्यालाई सम्बोधन गर्नुभयो ।”
यो आयोजनाले ठोरी क्षेत्रका कृषकहरूलाई वर्षौंको सिँचाइ अभावबाट मुक्त गरी कृषि उत्पादन बढाउने र जीविकोपार्जन सुधार्ने विश्वास लिइएको छ ।








