काठमाडौं — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका ठूलो संख्यामा उम्मेदवारहरूको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार कुल २ हजार ८ सय ९० जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा आफ्नो जमानत जोगाउन सकेनन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले कानूनअनुसार निश्चित धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। तर, आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा उक्त रकम राज्यको ढुकुटीमा जफत हुने कानुनी प्रावधान छ।
आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३ सय ५० जनाले एक भोट पनि प्राप्त गर्न सकेनन्। उनीहरूको मत परिणाम शून्य देखिएको छ। यसले कतिपय उम्मेदवारले आफूले आफैंलाई वा आफ्नै परिवारका सदस्यले समेत मत नहालेको हुनसक्ने संकेत गरेको आयोगको भनाइ छ।
प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये जम्मा ५ सय १६ जनाले मात्रै कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याएर आफ्नो जमानत जोगाउन सफल भएका छन्।
जमानत जोगाउन सफल उम्मेदवारहरूले भने आफ्नो धरौटी रकम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ। आयोगका अनुसार अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको ९० दिनभित्र रितपूर्वक निवेदन दिएपछि कानूनअनुसार उनीहरूले आफ्नो रकम फिर्ता पाउनेछन्।








