पर्साका ग्रामीण क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान जारी, मतदाताको उत्साहजनक सहभागिता

 

हरिकिशोर शर्मा / फागुन २१ जिराभवानी पर्सा ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ। पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा अवस्थित सखुवाप्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिका, जगरनाथपुर गाउँपालिका र जिराभवानी गाउँपालिका का विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।

मतदाताहरू लामो लाइनमा बसेर उत्साहका साथ आफ्नो अमूल्य मत खसालिरहेका छन्। लोकतान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास झल्काउने गरी स्थानीय मतदान केन्द्रहरूमा उल्लेखनीय सहभागिता देखिएको छ। बिहानैदेखि मतदाता मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्र वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना का सुरक्षाकर्मी परिचालित छन्। ठाउँ–ठाउँमा चेकजाँच गरी सुरक्षा सुनिश्चित गरिएको छ भने अनुमति बिना कुनै पनि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

देशभर नै महत्त्वपूर्ण मानिएको यस निर्वाचनमा पर्साका ग्रामीण क्षेत्रमा देखिएको शान्तिपूर्ण मतदानले समग्र निर्वाचन प्रक्रियालाई सकारात्मक सन्देश दिएको छ। मतदान सम्पन्न भएपछि सम्बन्धित केन्द्रहरूमा मतपेटिका सङ्कलन गरी मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन अधिकारीहरूले बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित