वीरगंज, २० फाल्गुन। जलेशवर सरार्फ
आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्ष्यित गर्दै सुरक्षा व्यवस्थालाई मध्यनजरगरी नेपाली सेनाले वीरगंजमा थालेको विशेष सर्च अभियानमा धार्मिक द्वन्द फैलाउन खोजेका तीन जना व्यक्तिहरु पक्राउ परेका छन् । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको उक्त सर्च अभियानलाई सुरक्षा निकायले ठूलो सफलताका रूपमा लिएका छन ।
राती करिब २ बजेतिर श्रीजंग गण बिरगंजको नेतृत्वमा निस्किएका नेपाली सेनाको टोलीले वीरगंज महानगरपालिका वडा नं-१६ ईनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेशनका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरुमा वीरगंज वडा न:- १६ निवासी कृष्ण यादव, सोही वडाका रोहित पटेल र अविजित यादव रहेका छन् । पक्राउ पर्नेहरुको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, १ थान पावर बैंक, १ थान चार्जर, सेतो रंगको तार तथा ५ वटा सुंगुरको टाउको बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको समयमा कुनै पनि प्किसिमको साम्प्रदायिक तथा अराजक गतिविधि हुन नदिने उदेश्यले नेपाली सेना पूर्णरूपमा सतर्क रहेको समेत उनले बताएका छन्। सुरक्षा निकायका अनुसार बरामद भएका सामग्रीले धार्मिक सदभाव बिगार्ने तथा निर्वाचनलाई प्रभावित समेत पार्ने उदेश्य अनुरुप यो गतिविधि देखिएको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ। पक्राउ पर्नेहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। तथा यिनिहरुमाथी सोहि अभियोग अन्तर्गत मुद्दा दर्ता समेत हुने जानकारी समेत गराईएको छ।








