पर्साको भाथा धाम ओझेलमा : संरक्षण र पूर्वाधार विकासमा राजनीतिक उदासीनताप्रति स्थानीय आक्रोश

 

वीरगंज / फाल्गुण १६ — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेव (भाथा धाम) को संरक्षण, प्रचार–प्रसार र पूर्वाधार विकासमा राज्य तथा राजनीतिक दलहरू उदासीन देखिएको भन्दै स्थानीय बासिन्दाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र चुनावी अभियानमा व्यस्त रहे पनि भाथा धाम जस्तो महत्वपूर्ण धार्मिक स्थललाई आफ्नो एजेन्डामा प्राथमिकताका साथ समेट्न नसकेको स्थानीयको आरोप छ।

घना जंगलभित्र अवस्थित भाथा धाममा पुग्न हालसम्म सहज सडक पहुँच छैन। वर्षमा चार पटक लाग्ने विशेष मेला तथा श्रावण महिनाभर लाग्ने धार्मिक मेलामा हजारौंको संख्यामा भक्तजन उपस्थित हुने गर्छन्। विशेष गरी श्रावण महिनाका प्रत्येक सोमबार नेपालका विभिन्न जिल्ला तथा भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत लाखौं श्रद्धालु आउने स्थानीयको भनाइ छ। यति ठूलो धार्मिक आवागमन हुँदाहुँदै पनि सुरक्षित सडक, पक्की पदमार्ग, खानेपानी, शौचालय, धर्मशाला, प्रकाश व्यवस्था र सुरक्षा चौकी जस्ता आधारभूत पूर्वाधारको अभाव कायमै छ।

स्थानीय अनिल यादवका अनुसार, “हरेक वर्ष मेला नजिकिँदा मात्र केही प्रतिनिधि आएर आश्वासन दिन्छन्, तर चुनाव सकिएपछि सबै कुरा सेलाएर जान्छ। दीर्घकालीन योजना र बजेट विनियोजनमा भाथा धाम सधैं पछाडि पारिन्छ।” उनका अनुसार घना जंगलभित्र पर्ने भएकाले कतिपय भक्तजन जंगली जनावरको त्रासमा समेत यात्रा गर्न बाध्य छन्। यस्तो जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै सरकारले ठोस सुरक्षा तथा पूर्वाधार योजना ल्याउनुपर्ने माग उनले राखे।

अर्का स्थानीय दिनेश साहले भाथा धामको धार्मिक तथा सांस्कृतिक महत्व राष्ट्रिय स्तरमै स्थापित हुन सक्ने सम्भावना रहेको बताए। “श्रावण महिनामा ४–५ वटा सोमबार पर्छन्। प्रत्येक सोमबार नेपाल–भारत मिलाएर लाखौं भक्तजन आउने गर्छन्। वर्षमा चार पटक लाग्ने मेलामा पनि तिन दिन जिल्लाको भागबाट ठूलो संख्यामा श्रद्धालु भेला हुन्छन्,” उनले भने। यति ठूलो भीड व्यवस्थापन गर्न स्थानीय तहको सीमित स्रोतसाधन पर्याप्त नभएको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा वरिष्ठ पत्रकार बलिराम शुक्लाले विगतदेखि नै यस विषयमा कलम चलाउँदै आएको उल्लेख गर्दै भाथा धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। “यदि सडक, धर्मशाला, सूचना केन्द्र र व्यवस्थित क्षेत्र निर्माण गरियो भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउन सक्छ,” उनले भने। राष्ट्रिय स्तरका पत्रपत्रिकामा धामको इतिहास र महत्वबारे लेख्दै आएको स्मरण गराउँदै राजनीतिक इच्छाशक्ति अभावकै कारण धाम ओझेलमा परेको टिप्पणी गरे।

स्थानीयका अनुसार पछिल्लो मेलाको समयमा पर्साबाट तीन केन्द्रीय मन्त्री र दुई प्रदेश मन्त्री सहभागी भए पनि दीर्घकालीन योजना कार्यान्वयन हुन सकेन। धार्मिक आस्था र सांस्कृतिक पहिचान बोकेको यो धामलाई व्यवस्थित विकास गर्न सकिए स्थानीय रोजगारी, साना व्यवसाय, होटल तथा यातायात क्षेत्रसमेत लाभान्वित हुने विश्वास गरिएको छ।

आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले विकासका ठूला नारा अघि सारे पनि भाथा धामको संरक्षण र प्रवर्द्धनबारे स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीय निराश देखिन्छन्। स्थानीयवासीले अबको जनप्रतिनिधिले भाथा धामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दीर्घकालीन गुरुयोजना ल्याउने अपेक्षा गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित