वीरगंज, पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णय अन्य जिल्लाभन्दा करिब सात दिन अगाडि लागू गरेको विषयप्रति पर्सा जिल्लाका सम्पूर्ण मदिरा व्यवसायीहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
प्राप्त जानकारीअनुसार देशका अन्य धेरै जिल्लाहरूमा मदिरा बिक्री–वितरण फागुन १८ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ। तर पर्सा जिल्लामा मात्र फरक मिति तोकिनुले व्यवसायीहरू अन्यायपूर्ण, विभेदपूर्ण तथा अन्योलपूर्ण अवस्थाको सामना गर्न बाध्य भएको उनीहरूको भनाइ छ। एउटै देशभित्र एउटै प्रकृतिको व्यवसायमा फरक–फरक मापदण्ड लागू गरिनु उचित नहुने व्यवसायीहरूको तर्क छ।
व्यवसायीहरूका अनुसार मदिरा व्यापार केवल व्यवसाय मात्र नभई हजारौं परिवारको जीविकोपार्जनको प्रमुख आधार हो। यस क्षेत्रमा संलग्न व्यवसायीहरूले नियमित रूपमा राज्यलाई कर तिर्दै आएका छन्, जसबाट राज्य सञ्चालनमा समेत महत्त्वपूर्ण योगदान पुगेको छ। तर स्पष्ट कारण र समान मापदण्डबिना फरक–फरक निर्णय लागू गरिँदा व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा पर्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्।
विशेषगरी धेरै व्यवसायीहरूले बैंकबाट ऋण लिएको, गोदाम तथा पसलमा ठूलो परिमाणमा मालसामान मौज्दात रहेको, घरभाडा, कर्मचारी तलब, बैंक ब्याज तथा अन्य नियमित खर्च तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा अचानक अन्य जिल्लाभन्दा अगावै बिक्री बन्द गरिनुले गम्भीर आर्थिक संकट निम्त्याउने उनीहरूको भनाइ छ।
यसै सन्दर्भमा व्यवसायीहरूले पर्सा जिल्लामा मात्र फरक मिति तोकिएको निर्णयको कानुनी आधार, कारण र प्रक्रिया सम्बन्धमा सम्बन्धित निकायले तत्काल स्पष्ट जानकारी गराउन माग गरेका छन्। साथै देशभर समान रूपमा लागू हुने एकरूप मिति र मापदण्ड कायम गर्न सम्बन्धित निकायले गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
व्यवसायीहरूले चेतावनी दिँदै उक्त निर्णयबाट उत्पन्न हुने आर्थिक क्षति, समस्या तथा असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेका छन्।









