वीरगञ्ज १३ फाल्गुन
नेशनल प्याब्सन द्वारा आयोजित T-20 Knockout Cricket Tournament–2082 को उद्घाटन समारोह बुधबार भव्य एवं सभ्य वातावरणमा सम्पन्न भएको छ।कार्यक्रमको सञ्चालन नरेश पटेलले गर्नुभएको थियो भने समारोहका सभापति तथा प्रतियोगिताका संयोजक सन्नी दुबे रहनुभएको थियो। प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाई पर्साका इकाई प्रमुख मोतीलाल भट्टराईको आतिथ्य रहेको थियो।
विशिष्ट अतिथिहरूमा एनप्याब्सनका केन्द्रीय संस्थापक सदस्य तथा CPS School का संस्थापक रामबिनेश चौधरी, केन्द्रीय सचिव शुशील भट्टराई, सदस्य अरविन्द सिंह, नगर अध्यक्ष तथा Sagarmatha School का प्रधानाध्यापक जियालाल गुप्ता, नगर सचिव तथा Birgunj Golden Gate Academy का प्रतिनिधि सेख अजहरको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य Kavya Academy का संस्थापक हरिन्द्र प्रसाद कुशवाहाले व्यक्त गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा कव्या एकेडेमीका छात्राहरूले मनमोहक स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। विभिन्न विद्यालयका निर्देशक, प्रिन्सिपल तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थितिले समारोहलाई थप गरिमामय बनाएको थियो।वक्ताहरूले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व विकास तथा स्वस्थ जीवनशैलीको महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे। प्रतियोगिताले विद्यार्थीहरूबीच सद्भाव, मित्रता र खेलभावनाको विकास गर्ने विश्वास लिइएको छ।

उद्घाटन दिन सम्पन्न पहिलो खेलमा Kavya Academy र Shubhtara School बीच प्रतिस्पर्धा भएको थियो। खेलमा कव्या एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै शुभतारा स्कूललाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ।कव्या एकेडेमीका खेलाडी अवधेश पण्डितले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्याए। उनको सर्वोत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो।
जी.एच.पी.को शानदार जित, केशव यादव ‘म्यान अफ द म्याच’ घोषित
आज सम्पन्न खेलमा जी.एच.पी. (G.H.P.) ले Sesame School विरुद्ध ३० रनले शानदार जित हात पारेको छ। प्रतिस्पर्धात्मक खेलमा जी.एच.पी.का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन्।खेलमा निर्णायक भूमिका निर्वाह गर्दै जी.एच.पी.का केशव यादवले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ५ विकेट लिन सफल हुँदै विपक्षी टोलीलाई दबाबमा राखेका थिए। उनको उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ।
अन्त्यमा, आयोजक संस्थाले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।यस प्रतियोगिताले विद्यालयस्तरको क्रिकेटमा नयाँ ऊर्जा थप्दै खेलकुदमार्फत शैक्षिक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।









