हेटौंडा, १३ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत एक अधिकृतसहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार सवारी साधनको सरुवा सहमति गरिदिने क्रममा सेवाग्राहीसँग अवैध रकम मागिएको भन्ने उजुरी परेपछि विशेष टोली खटाइएको थियो। अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निर्वाह गर्दै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
घटनामा संलग्न रहेको आरोपमा कार्यालयका छैटौं तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। दुवैलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको हो।
आयोगको टोलीले पक्राउ परेका दुवै जनाको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ। बरामद सामग्रीको परीक्षण तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, पारदर्शी र उत्तरदायी बनाउन यस्ता कारबाहीलाई निरन्तरता दिइने आयोगको भनाइ छ।









